पूर्वी नवलपरासीको एस मोडमा यात्रुवाहक बस दुर्घटना, एक जनाको मृत्यु, ९ जना घाइते
काठमाडौं । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।
नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको यात्रुवाहक बस चालकले नियन्त्रण गुमाउँदा आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत सडकबाट नालामा पल्टिएको हो।
दुर्घटनामा जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको बिहान ५ः२६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइतेमध्ये बाँके नेपालगञ्ज उपमहानगरपालिका–१६ का ४८ वर्षीय अस्लाम भगवानको अवस्था गम्भीर रहेको छ। उनको टाउकोमा चोट लागेको छ।
यस्तै, गोरखा गोरखा नगरपालिका–९ का ३० वर्षीय हरिशरण थापा, अछाम मंगलसेन नगरपालिका–६ का २८ वर्षीय तेजेन्द्रप्रसाद भण्डारी, बर्दिया ठाकुरबाबा नगरपालिका–१ की २० वर्षीया आकृती थारु, बाजुरा स्वामीकार्तिक गाउँपालिका–५ का ३२ वर्षीय पवन बुढा, ललितपुरका २९ वर्षीय अनोज खत्री र बर्दिया बाँसगढी नगरपालिका–७ का ३६ वर्षीय लालबहादुर कार्की घाइते भएका छन्। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
त्यसैगरी बर्दिया राजापुर नगरपालिका–९ का २८ वर्षीय सञ्जय थारु, बाजुरा स्वामीकार्तिक गाउँपालिका–१ का २५ वर्षीय प्रेम बम र सल्यान वनगाड कुपिण्डे नगरपालिका–१ का २१ वर्षीय अनिल बुढाथोकीलाई सामान्य चोट लागेको छ।
दुर्घटनापछि घटनास्थलमा उद्धार कार्य जारी रहेको छ। बसमा अझै एक जना व्यक्ति च्यापिएको अवस्थामा रहेको र दुईवटा क्रेनको सहयोगमा उनलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको थप विवरण तथा बसमा सवार यात्रुको यकिन संख्या खुल्न बाँकी छ।
