भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा
काठमाडौँ, १९ असोजः रसुवाको भोटेकोशीमा गएको बाढीका कारण आमाबुवा गुमाएका उत्तरगया गाउँपालिका-१ का बालबालिका राखिएको विदुर नगरपालिका-२ स्थित अन्नपूर्ण पञ्चकन्या होल्डिङ सेन्टर खाली गरिएको छ ।
बाढीपीडित बालबालिकालाई परिवारका सदस्यबाट टाढा राखिएको भन्दै आफन्त तथा स्वयं बालबालिकाले निरन्तर आवाज उठाएपछि महिला, बालबालिका, लैङ्गिक तथा अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय तथा उत्तरगया गाउँपालिकाको समन्वयमा अधिकांश बालबालिकालाई आफन्त तथा नातेदारको संरक्षणमा रहने गरी जिम्मा लगाइएको राष्ट्रिय बालअधिकार परिषद्ले जनाएको छ ।
परिषद्बाट खटिनुभएका अधिकृत बद्रीप्रसाद वाग्लेका अनुसार बालबालिका तथा उनीहरूलाई संरक्षणमा लिन चाहने परिवारको विस्तृत मनोसामाजिक लेखाजोखा तथा उत्तरगया-१ को वडा कार्यालयबाट नाता प्रमाणित भएको कागजातका आधारमा आफन्त तथा नातेदारको जिम्मा लगाइएको हो ।
बालबालिकालाई आफन्त तथा नातेदारको जिम्मा लगाउने क्रममा सम्बन्धित अभिभावक तथा संरक्षकबाट स्वघोषणा फारममा हस्ताक्षर गराई बाल संरक्षणसम्बन्धी प्रतिबद्धतासमेत लिइएको उहाँले जानकारी दिनुभयो ।
स्वघोषणामार्फत अभिभावक तथा संरक्षकले बालबालिकाको हक लाग्ने चलअचल सम्पत्तिको संरक्षण गर्ने, परिवार वा नातेदारभित्रै सुरक्षित हेरचाहको व्यवस्था गर्ने, बालविवाह हुन नदिने, जोखिमपूर्ण वा अनुचित बालश्रममा नलगाउने तथा कुनै पनि प्रकारको शारीरिक, मानसिक वा यौनजन्य हिंसा, शोषण र दुव्र्यवहार हुन नदिने प्रतिबद्धता जनाएका छन् ।
त्यसैगरी बालबालिकाको विद्यालय शिक्षा तथा शैक्षिक निरन्तरता सुनिश्चित गर्ने, बालबालिका तथा परिवारसम्बन्धी व्यक्तिगत विवरणको गोपनीयता कायम गर्ने र बालबालिकालाई विभेदरहित, सम्मानजनक तथा सुरक्षित वातावरण उपलब्ध गराउने प्रतिबद्धतासमेत अभिभावक तथा संरक्षकबाट लिइएको परिषद्का अधिकृत वाग्लेले बताउनुभयो ।
स्वघोषणा फारममा अभिभावक तथा संरक्षकले आफू आजको मितिसम्म बालबालिकाविरुद्धको कुनै कसुर वा नैतिक पतन देखिने फौजदारी कसुरमा दोषी नभएको पनि जनाएका छन् । समाजसेवी तथा बालमनोविज्ञबाट गरिएको विस्तृत लेखाजोखाका क्रममा अधिकांश बालबालिकालाई आफन्त तथा नातेदारले आफूसँगै राख्न चाहेको पाइएको वाग्लेले बताउनुभयो ।
होल्डिङ सेन्टरमा रहेका २६ बालबालिकामध्ये एक जना काठमाडौँमा उपचाररत छन् भने २३ जनालाई आफन्त तथा नातेदारसँग पुनर्मिलन गराइएको छ । दुई जना बालबालिकालाई राष्ट्रिय बालअधिकार परिषदमार्फत उद्धार गरी वैकल्पिक हेरचाहमा राखिएको अधिकृत वाग्लेले जानकारी दिनुभयो ।
