सिरियाका शारासँग द्रुज हिंसाबारे फोनवार्ता गरेको नेतन्याहूद्वारा स्वीकार
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पहिले सिरियाली राष्ट्रपति अहमद अल–शारासँग द्रुज समुदायमाथि भएको हिंसाबारे कुरा गरेको स्वीकार गर्नुभएको छ र यो सारासँग उहाँको प्रत्यक्ष सम्पर्कको पहिलो स्वीकारोक्ति हो ।
नेतन्याहूले फोनवार्ता कहिले भएको थियो भन्ने बताउनुभएन तर उहाँको भनाइले सन् २०२५ जुलाईमा दक्षिण सिरियामा द्रुज समूह, बेदुइन लडाकु र सरकारी सुरक्षा बलबीच भएको रक्तरञ्जित झडपका क्रममा भएको सङ्केत दिन्छ ।
“मैले अल–शारालाई फोन गरेँ । यो धेरै छोटो र धेरै लक्षित कुराकानी थियो, र हत्या रोकियो,” नेतन्याहूले इजरायलको द्रुज समुदायसँगको चुनावी सभामा भन्नुभयो । उहाँको भिडियो इजरायली सार्वजनिक प्रसारक कानले प्रसारण गरेको थियो ।
सन् २०२५ को झडप सिरियाको स्वेइदा प्रान्तमा सशस्त्र द्रुज समूह र बेदुइन लडाकुबीच सुरु भएको थियो । त्यसपछि सरकारी सुरक्षा बल र केही जनजातीय समूहले बेदुइनको पक्ष लिएका थिए ।
‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’का अनुसार दुई हजारभन्दा बढी मानिस मारिएका थिए भने तीमध्ये ७८९ द्रुज नागरिक थिए ।
सिरियाली सरकारले गठन गरेको समितिले एक हजार ७६० जनाको मृत्यु दर्ता गरेको बताएको छ ।
त्यसबेला सरकारी बल र उनीहरूका सहयोगीहरूमाथि नागरिकहरूको हत्या र अन्य दुर्व्यवहारको आरोप लागेको थियो ।
इजरायलमा पनि झडपका क्रममा सैन्य हस्तक्षेप भएको क्षेत्रमा बसोबास गर्ने द्रुज जनसङ्ख्या छ । स्वेइदामा र दमास्कसमा सरकारी लक्ष्यमा आक्रमण गर्दै उसले अल्पसङ्ख्यक समुदायको रक्षा गरिरहेको बताएको थियो ।
पछि सरकारी पक्षका बलहरू स्वेइदा शहरबाट फर्किए र कमजोर युद्धविराम कायम भयो। यसै वर्ष जुलाईमा दमास्कसले हिंसाका आरोपीहरूको मुद्दा चलाउन थालेको बताएको थियो ।
सन् २०२४ डिसेम्बरमा लामो समयदेखि शासन गरेका बशर अल–असदको पतनपछि इजरायलले सिरियामा सयौं आक्रमण गरेको छ र सन् १९७४ देखि गोलानमा इजरायली र सिरियाली बललाई छुट्ट्याउने संयुक्त राष्ट्र सङ्घको गस्ती क्षेत्रमा सेना पठाएको छ ।
उसले सिरियाली भूमिभित्र गहिरो घुसपैठ पनि गरेको छ र दक्षिण सिरियामा तथाकथित ‘सुरक्षा क्षेत्र’ मा सेना राख्ने वाचा गरेको छ जहाँ उसले फराकिलो सैन्यमुक्त क्षेत्र खोजिरहेको छ ।
सिरियाका नयाँ नेताहरूले देशको दक्षिणमा इजरायली सैन्य कारबाहीको निन्दा गरेका छन् तर बल प्रयोग गरेर जवाफ दिएका छैनन् ।
तनावका बाबजुद सिरिया र इजरायलले सुरक्षा सम्झौतातर्फ अघि बढ्दै प्रत्यक्ष वार्ताका केही चरणहरू सम्पन्न गरेका छन् ।

