Monday 19th of October | २०८३ कार्तिक ३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चुनावअघि नेतान्याहुलाई ट्रम्पको समर्थन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ३ सोमबार | जेरुसेलम, २ कात्तिक (रासस\एएफपी):

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अक्टोबर २७ मा हुने इजरायलको संसदीय चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई समर्थन गर्नुभएको छ । उहाँको समर्थनले कडा चुनावी प्रतिस्पर्धामा नेतान्याहुको पुनःनिर्वाचन प्रयासलाई बल पुग्ने अपेक्षा गरिएको छ ।

    ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा नेतान्याहुलाई बलियो, साहसी र प्रतिभाशाली नेता भन्दै उहाँको पुनःनिर्वाचन अभियानलाई पूर्ण समर्थन गर्ने घोषणा गर्नुभएको छ । नेतान्याहुले पनि ट्रम्पलाई धन्यवाद दिँदै इरानको खतरा हटाउन आगामी दुई वर्षभित्र वा त्योभन्दा अगाडि नै मिलेर काम गर्ने बताउनुभयो ।

    इरानमाथि अमेरिका र इजरायलले फेब्रुअरीको अन्त्यमा आक्रमण गर्दा ट्रम्पले नेतान्याहुलाई साथ दिनुभएको थियो । तर, युद्धको विरोध र तेलको मूल्यवृद्धिबीच उहाँ अप्रिलमा युद्धविराम गर्न सहमत हुनुभएको थियो । इरानसँग कूटनीतिक सम्झौता सम्भव नभएको नेतान्याहुको भनाइ र ट्रम्पको वार्तामार्फत द्वन्द्व अन्त्य गर्ने प्रयासबीच मतभेदसमेत देखिएको थियो । इरानी विदेशमन्त्री अब्बास अराघचीले नेतान्याहुले अमेरिकालाई अर्को युद्धमा धकेल्न खोजेको आरोप लगाउनुभएको छ ।

    सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि इजरायलमा हुन लागेको पहिलो चुनावमा नेतान्याहुले त्यसको जिम्मेवारी लिनुपर्ने विपक्षीहरूको माग छ । उहाँका प्रमुख प्रतिस्पर्धी गदी आइसेनकोटले इजरायलको नेता छान्ने अधिकार त्यहाँका नागरिकमा मात्रै रहेको बताउनुभएको छ ।

    करिब ७० लाख मतदाता सहभागी हुने चुनावमा कुनै पनि पक्षले १२० सदस्यीय संसद्मा सरकार गठनका लागि आवश्यक ६१ सिट जित्ने स्पष्ट सङ्केत नदेखिएको सर्वेक्षणहरूले जनाएका छन् । यसैबीच, कब्जा गरिएको वेस्ट ब्याङ्कमा इजरायली बासिन्दाको आक्रमणमा अमेरिकी फोटो पत्रकार घाइते भएपछि विदेशमन्त्री मार्को रुबियोले त्यहाँको अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

    इजरायलको सबैभन्दा लामो समय प्रधानमन्त्री बन्नुभएका नेतान्याहु सन् २०२२ डिसेम्बरमा पुनः सत्तामा फर्कनुभएको थियो । न्यायपालिकाको अधिकार सीमित गर्ने प्रयास र भ्रष्टाचारसम्बन्धी आरोपका कारण उहाँ विवादमा पर्दै आउनुभएको छ । चुनावअघि ट्रम्पले नेतान्याहुबाहेक अरूलाई निर्वाचित नगर्न मतदातालाई आग्रह गर्दै उहाँका प्रतिस्पर्धी विजयी भए अमेरिकाले इजरायलका लागि आवश्यक काम आफैँ गर्नुपर्ने बताउनुभएको छ ।
---

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan