Monday 19th of October | २०८३ कार्तिक ३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कूटनीतिज्ञमाथि आक्रमणको इयूद्वारा कडा निन्दा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ३ सोमबार | ब्रसेल्स, १ कात्तिक (रासस÷एएफपी)ः

युरोपेली सङ्घ (इयु) ले इजरायलको कब्जामा रहेको पश्चिम किनारमा भ्रमणमा रहेका युरोपेली कूटनीतिज्ञहरूमाथि इजरायली बस्तीवासीले गरेको आक्रमणको आइतबार कडा निन्दा गरेको छ ।
    
    इयुको विदेश सेवाले जारी गरेको विज्ञप्तिमा पश्चिम किनारमा युरोपेली कूटनीतिज्ञमाथि भएको पछिल्लो आक्रमणप्रति गम्भीर आपत्ति जनाइएको छ । साथै, आक्रमणमा संलग्नलाई जवाफदेही बनाउन र प्यालेस्टिनीमाथि जारी हिंसा रोक्न प्रभावकारी कदम चाल्न आग्रह गरिएको छ ।
    
    विज्ञप्तिमा जैतुनको फल टिप्ने मौसमका क्रममा प्यालेस्टिनी किसानमाथि हुने हिंसा तथा पत्रकारमाथिको आक्रमण र उत्पीडन रोक्न पनि माग गरिएको छ ।
    
    “हामी इजरायललाई अन्तरराष्ट्रिय मानवीय कानुन र मानव अधिकारसम्बन्धी कानुनको पूर्णपालना गर्न तथा बस्ती विस्तार रोक्न आग्रह गर्छौं”, इयुले भनेको छ ।
    
    शनिबार पश्चिम किनारमा इजरायली बस्तीवासीको एक समूहले युरोपेली कूटनीतिज्ञहरूको टोलीमाथि आक्रमण गरेको थियो । घटनाका प्रत्यक्षदर्शीका अनुसार, भ्रमणमा रहेका फ्रान्सेली नगरप्रमुखलाई कुटपिट गरिएको थियो ।
    
    उत्तरी फ्रान्सको औलनोए–एमेरीज नगरका ७८ वर्षीय नगरप्रमुख बर्नार्ड बाउडोक्सले नकाब लगाएका बस्तीवासीले फ्रान्सविरुद्ध अपमानजनक टिप्पणी गर्दै आफूलाई लात्तीले हानेको र फलामको डन्डीले प्रहार गरेको बताउनुभएको छ ।
    
    आक्रमणपछि एएफपीसँग कुरा गर्दै बाउडोक्सले इजरायली बस्तीवासीको यस्तो व्यवहारप्रति इजरायली सरकारको सहिष्णुता रहेको आफूलाई लागेको बताउनुभयो । “के भइरहेको छ भन्ने कुरा विश्वले जान्न आवश्यक छ”, उहाँले भन्नुभयो ।
    
    फ्रान्सेली विदेशमन्त्री जाँ–नोएल बारोले इजरायललाई हिंसा तत्काल रोक्न र घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न आग्रह गर्नुभएको छ । बेल्जियमका विदेशमन्त्रीले पनि दोषीमाथि कारबाही गर्न माग गर्नुभएको छ ।
    
    यस घटनाले पश्चिम किनारमा प्यालेस्टिनीमाथि हुने हिंसा र इजरायली बस्तीवासीको गतिविधिबारे अन्तरराष्ट्रिय चासो थप बढाएको छ ।
    
    जैतुनको फल टिप्ने वर्तमान मौसममा प्यालेस्टिनी किसानमाथि आक्रमण तथा फसलमा अवरोधका घटनाहरू भइरहेको बताइएको छ । 

    यसैबीच, इजरायलमा अक्टोबर २७ मा हुने निर्वाचन नजिकिँदै गर्दा पश्चिम किनारमा तनाव र हिंसाका घटनासमेत बढिरहेका छन् ।
    
    अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि एक अमेरिकी फोटो पत्रकारमाथि भएको आक्रमणको भोलिपल्ट उक्त क्षेत्रमा बढ्दो सङ्कटप्रति चिन्ता व्यक्त गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan