Monday 26th of October | २०८३ कार्तिक १० सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चीनको छेन्दुमा चिनियाँ भाषामा अनूदित छ नेपाली पुस्तक लोकार्पित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १० सोमबार |

काठमाडौँ, ९ कात्तिकः चीनको छेन्दुमा आयोजित तियान्फु पुस्तक प्रदर्शनीका अवसरमा नेपाली भाषाबाट चिनियाँ भाषामा अनूदित छ वटा नेपाली पुस्तक विशेष समारोहबीच लोकार्पण गरिएको छ ।

    नेपाली साहित्यलाई चिनियाँ पाठकमाझ पुर्‍याउने तथा नेपाल र चीनबीचको साहित्यिक र सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउने उद्देश्यले आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति कुमार नगरकोटी विशेष अतिथिका रूपमा सहभागी हुनुभएको नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा रोशन शेरचनले जानकारी दिनुभयो ।

    त्यस अवसरमा महाकवी लक्ष्मीप्रसाद देवकोटाको ‘लक्ष्मी निबन्धसङ्ग्रह’, भीष्म उप्रेतीको ‘हिमालय, शेर्पा र यती’, ध्रुवचन्द्र गौतमको ‘अलिखित’, सरुभक्तको ‘चुली’, डा राजु अधिकारीको ‘यस्तो होस् जीवनशैली’ र सुलोचनाको ‘जीवनबाट जीवन सिकौँ’ पुस्तक चिनियाँ भाषामा अनुवाद गरी लोकार्पण गरिएको थियो ।

    समारोहमा सिचुवान सिन्ह्वा वितरण समूहका उपप्रबन्धक के जिमिङ र तिब्बत विश्वविद्यालयका निर्देशक प्राध्यापक जिउमाउकुले पनि मन्तव्य राख्नुभयो ।

    नेपाल सरकार र चीन सरकारबीच सन् २०२३ सेप्टेम्बर २५ मा नेपाली तथा चिनियाँ पुस्तक अनुवाद र प्रकाशनसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको थियो । नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र चीनको ‘नेसनल एडमिनिस्ट्रेसन अफ प्रेस एन्ड पब्लिकेसन्स’ बीच भएको समझदारीअनुसार नेपालका २५ पुस्तक चिनियाँ भाषामा र चीनका २५ पुस्तक नेपाली भाषामा अनुवाद गरी प्रकाशन गर्ने परियोजना अघि बढाइएको थियो ।

    आजको कार्यक्रममा कुलपति नगरकोटी र सिचुवान प्रान्तका उपगभर्नर हु युनबीच कला, साहित्य तथा संस्कृतिको द्विपक्षीय आदानप्रदानका विषयमा वार्ता भएको थियो । उक्त भेटमा सिचुवान ललितकला प्रकाशन गृहका अध्यक्ष ताङ हाईताओसमेत सहभागी हुनुहुन्थ्यो ।

    पुस्तक अनुवाद तथा प्रकाशन परियोजनाले नेपाली साहित्यको अन्तरराष्ट्रिय पहुँच विस्तार गर्नुका साथै नेपाल र चीनबीच सांस्कृतिक समझदारी, साहित्यिक आदानप्रदान तथा पारस्परिक सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan