Monday 26th of October | २०८३ कार्तिक १० सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १० सोमबार | रासस

 

दमौली (तनहुँ), ९ कात्तिक : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन भएका फूललाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । उहाँले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न सके किसानको आम्दानी बढ्नुका साथै स्वदेशी उत्पादनको प्रवर्द्धनमा सहयोग पुग्ने बताउनुभयो ।

 

तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लीस्वारामा महिलाले सामूहिक रूपमा गरेको सयपत्री फूलखेतीको आज अवलोकन गर्दै महामन्त्री पौडेलले तिहारमा बाहिरबाट फूल आयात गर्नुभन्दा स्थानीयस्तरमा उत्पादन भएका फूलको प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो । स्थानीय किसानले उत्पादन गरेका फूलको बिक्री वितरण सहज बनाउन स्थानीय तहले बजारीकरणको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो ।

 

चाडपर्वका बेला फूलको माग बढ्ने भएकाले स्थानीयस्तरमा उत्पादन भएका फूललाई बजारसम्म पुर्‍याउने व्यवस्था आवश्यक रहेको पौडेलले बताउनुभयो । किसानले उत्पादन गरेको फूल बिक्री नभएमा व्यावसायिक खेतीप्रति निरुत्साहित हुनुपर्ने अवस्था आउने भन्दै स्थानीय उत्पादनको प्रवर्द्धनमा सबै पक्षले ध्यान दिनुपर्ने उहाँले उल्लेख गर्नुभयो । 

 

म्याग्दे–४ छिम्लीस्वारामा चण्डेश्वरी फलफूल तथा कृषक समूहमा आबद्ध महिलाले सामूहिक रूपमा सयपत्री फूलखेती गर्दै आएका छन् । समूहका २३ जना महिला आबद्ध भएर गत वर्षदेखि फूलखेती सुरु गरेका हुन् । सामूहिक प्रयासबाट स्थानीयस्तरमै फूल उत्पादन गर्दै आएका महिलाले यसलाई आम्दानीको स्रोत बनाउने लक्ष्य लिएका छन् ।

 

समूहकी अध्यक्ष जितमाया रानाले खेतीलाई व्यवस्थित रूपमा अघि बढाउन आवश्यक पूर्वाधार र सिँचाइको व्यवस्था गर्नुपर्ने विषयमा महामन्त्री पौडेलको ध्यानाकर्षण गराउनुभयो । उहाँले फूलखेती गरिएको स्थानसम्म पुग्ने बाटो स्तरोन्नति गर्नुपर्ने र फलफूल खेतीका लागि पानीको अभाव समाधान गर्नुपर्ने माग राख्नुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan