Wednesday 28th of October | २०८३ कार्तिक १२ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दशौँ राष्ट्रिय खेलकुदका लागि जिल्लामा खेलाडी छनोट

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १२ बुधबार |

महेन्द्रनगर, ११ कात्तिकः आगामी म्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने १०औँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशमा जिल्लाबाट खेलाडी छनोटको तयारी थालिएको छ ।

    सुदूरपश्चिमका नौ जिल्लाबाट १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन ३२ खेलका दुई हजार ६ सय भन्दा बढी खेलाडीले फारम भरेका सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले जनाएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्काले यही कात्तिक १२ देखि १८ गतेसम्म यहाँका नौ वटै जिल्लामा खेलाडी छनोट गर्नका लागि पत्राचार जारी गरिएको जानकारी दिनुभयो ।

    “जिल्ला छनोट सकिएपछि म्सिर १ गतेदेखि धनगढी र महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेश छनोट गर्ने तयारी छ”, सदस्य सचिव खड्काले भन्नुभयो, “जिल्ला छनोट गर्न केही दिनमा प्रदेशबाट बजेट निकासा गर्छौँ ।”
    
    सुदूरपश्चिम प्रदेश सरकारले बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जिल्ला र प्रदेश छनोट एवं तयारीका लागि रु चार करोड ५० लाख बजेट बिनियोजन गरेको सदस्य सचिव खड्काले जानकारी दिनुभयो । राष्ट्रिय प्रतियोगितामा कुल ३२ खेल समावेश भए पनि सुदूरपश्चिमबाट केही खेलमा बाहेक अरु सबैमा खेलाडी सहभागी हुने उहाँले बताउनुभयो । 

    प्रशिक्षकको अभाव हुँदा समेत खेलकुद गतिविधि  सञ्चालन भइरहेका सदस्य सचिव खड्काले बताउनुभयो । सुदूरपश्चिमका सात पहाडी जिल्लाका साथै तराईका दुई जिल्लामा समेत विभिन्न खेलका प्रशिक्षक छैनन् । दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेशले राष्ट्रिय खेलकुद परिषद्लाई ३२ स्वयंसेवक प्रशिक्षक माग गरे पनि १६ खेलमा १६ स्वयंसेवक प्रशिक्षक नियुक्तीका लागि प्रक्रिया अघि बढाइएको सदस्य सचिव खड्काले बताउनुभयो । 

    “स्वयंसेवक प्रशिक्षकका लागि आवेदन लिने काम बिहीबारसम्म हुन्छ”, सदस्य सचिव खड्काले भन्नुभयो, “अन्य प्रक्रियाका विषयमा माथिल्लो निकायको निर्देशन अनरुप हुनेछ ।”
    
    प्रदेश खेलकुद परिषद्ले यहाँका नौवटै जिल्लालाई कात्तिक १८ गतेभित्र जिल्ला छनोट सम्पन्न गरी खेलाडीको नामावली विवरण पठाइसक्ने पत्राचार गरेको छ । 

    जिल्ला खेलकुद समिति कञ्चनपुरका कार्यालय प्रमुख गोपालदत्त भट्टले कञ्चनपुरका ७९० खेलाडीले जिल्ला छनोटका लागि फारम भरेको बताउनुभयो । उहाँले २७ खेलका लागि  ७९० खेलाडीले फारम भरेर खेलको तयारीमा जुटेका बताउनुभयो । कार्यालय प्रमुख भट्टका अनुसार कञ्चनपुरमा २२  खेलका लागि जिल्ला छनोट सञ्चालन हुँदैछ । जिल्लामा बक्सिङ, कराते, तेक्वान्दोलगायत आठ खेलका मात्र प्रशिक्षक कार्यरत छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan