Thursday 29th of October | २०८३ कार्तिक १२ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिष्ट पार्टी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १२ बिहीबार | रासस/एएफपी

चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न एक महत्वपूर्ण बैठकमा आफ्ना पङ्क्तिभित्र अनुशासन कडा बनाउने उपायहरू अपनाएको यहाँका राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

राष्ट्रपति सी जिनपिङको नेतृत्वमा भएको केन्द्रीय समितिको पाँचौँ प्लेनम (सम्मेलन) ले ‘पार्टीले अनुशासनलाई पूर्णरूपमा कसरी थप कडा बढाउने’ निर्णयहरू गरेको छ । यसमा कार्यकर्ताहरूबीचको भ्रष्टाचारलाई नियन्त्रण गर्ने पनि उल्लेख गरिएको सिन्ह्वा न्यूज एजेन्सीले जनाएको छ। 

ती उपायहरू के हुन् भन्ने विस्तृत विवरण भने दिइएको छैन । पार्टीको केन्द्रीय समितिमा करिब ३०० अधिकारीहरू छन् । विगतमा सम्मेलनहरू सीले आफ्नो अधिकार मजबुत बनाउने महत्वपूर्ण क्षण बनेका थिए र यस वर्ष पनि यसले निरन्तरता पाएको छ। 

“यो भेला पार्टी अध्यक्ष सीलाई अर्को वर्षको २१औँ (कम्युनिस्ट पार्टी) कांग्रेसमा अर्को कार्यकाल सुरक्षित गर्न तयारीका रूपमा प्रयोग भएको देखिन्छ,” एसओएएस चीन संस्थानका निर्देशक स्टिभ साङले एएफपीसँग भन्नुभयो ।
 
“विशेष गरी कर्मचारी मामिलामा नियन्त्रण कडा पार्नु सीको कार्यकाल विस्तार पूर्ण रूपमा सहज होस् भन्नका लागि आवश्यक तयारी कदम हो।” 
अड्कलबाजीका बाबजुद, आधिकारिक वक्तव्यमा सीलाई ‘जनताका नेता (जननेता)’ भनेर वर्णन गरिएन। यो पदवीले उहाँको राजनीतिक हैसियत अझ उचो बनाउने सङ्केत दिन्थ्यो । चिनियाँ नेताले १४ वर्षदेखि भ्रष्टाचारविरुद्ध अभियान चलाउनुभएको थियो, जसले हजारौँ अधिकारीहरूलाई हटाएको छ, जसमा दर्जनौँ केन्द्रीय समिति सदस्यहरू पनि छन् । उहाँ अझै पनि आफ्ना आदेश कार्यान्वयन नगर्ने कार्यकर्ताहरूप्रति असन्तुष्ट रहनुभएको छ । 

“प्लेनमले ‘पार्टी शासन शिथिल, सतही र प्रभावहीन भएको अव्यवस्थालाई रोक्न कडा उपाय अपनाएर’ पार्टीले ‘लामो समयदेखि नियन्त्रणबाहिर रहेका केही अस्वस्थ प्रवृत्तिहरूलाई रोकेको छ र पार्टी, राज्य तथा सशस्त्र बलभित्रका गम्भीर लुकेका खतराहरूलाई हटाएको छ,” वक्तव्यमा भनिएको छ । 

उहाँका व्यापक शुद्धीकरणका कारण यस वर्षको प्लेनममा सन् १९७६ मा पूर्व नेता माओ त्सेतुङको मृत्युपछिको सबैभन्दा कम उपस्थिति भएको बताइएको छ । बैठकअघि केन्द्रीय समितिका आठ सिट खाली थिए । 

–उतारचढाव–

सोमबारबाट सुरु भएका भेलामा कारबाहीहरूपछि खाली केही पदहरू भरिएका छन् । 

केन्द्रीय सैन्य आयोग (सीएमसी) का उपाध्यक्ष तथा भ्रष्टाचारविरोधी प्रमुख चाङ सेङमिनलाई राजनीतिक ब्यूरोमा बढुवा गरिएको छ । यो देशको सर्वोच्च निर्णय गर्ने निकाय हो । उहाँको बढुवासँगै राजनीतिक ब्यूरोका सदस्य सङ्ख्या २२ पुगेको छ । सीएमसी र केन्द्रीय समितिका धेरै खाली पदहरू नभरिएको तथ्यले ‘सी अहिले कसलाई प्रोत्साहन गर्ने भन्नेमा बढी सावधान देखिएका’ जनाउँछ,” साङले भन्नुभयो । 

सीको भ्रष्टाचारविरोधी अभियानले सैन्य संरचनालाई पनि निशाना बनाएको छ । पार्टीको सर्वोच्च सशस्त्र बल निकाय सीएमसीका सात सदस्यमध्ये पाँच जनालाई हटाएको छ ।अगस्टमा चीनले त्यस बेलाका सर्वोच्च जनरल चाङ योउक्सियालाई महिनौँ लामो भ्रष्टाचारविद्धको अनुसन्धानपछि पदबाट हटाएको थियो । उहाँको बर्खास्तीपछि सात प्रतिनिधि हुनुपर्ने सीएमसीमा सी र चाङ सेङमिन मात्र बाँकी रहनुभएको थियो । यो प्लेनम अर्को वर्षको प्रमुख पार्टी कांग्रेसअघि भएको हो । भेलाले ७३ वर्षीय सीलाई लगभग ऐतिहासिक चौथो कार्यकाल सुरक्षित गर्ने निश्चित देखिन्छ तर अन्य नेतृत्व फेरबदलको सम्भावना रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan