गाजामा स्वास्थ्य जोखिम, हेब्रोनमा तीन हजार विस्थापित
गाजामा हवाई आक्रमण र अन्य घटनाले प्यालेस्टिनी नागरिकको सुरक्षा तथा स्वास्थ्य जोखिममा पारेका छन् भने वेस्ट ब्याङ्कको हेब्रोनमा करिब तीन हजार नागरिक विस्थापित भएका छन् । संयुक्त राष्ट्रसङ्घले नागरिक र मानवीय सहायता कर्मचारीको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ ।
संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) का अनुसार बुधबार खान युनिसमा भएको हवाई आक्रमणको भग्नावशेषले संयुक्त राष्ट्रसङ्घको गोदाममा प्रहार गर्दा केही कर्मचारी घाइते भएका थिए । पछिल्लो एक सातामा आक्रमण, आगलागी र अन्य घटनाका कारण करिब एक सय प्यालेस्टिनी परिवारले पाल तथा अन्य सामग्री गुमाएका छन् ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार गाजामा श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण प्रमुख स्वास्थ्य समस्या बनेको छ । भीडभाड, खानेपानी तथा सरसफाइको कमजोर अवस्था र उपचारको अभावले सङ्क्रमणको जोखिम बढाएको छ ।
यसैबीच, हेब्रोनका दुई छिमेकी क्षेत्रबाट करिब तीन हजार प्यालेस्टिनी विस्थापित भएको स्थानीय अधिकारीहरूले जनाएका छन् । इजरायली सेनाको गतिविधि, प्रवेशमार्ग अवरुद्ध र आवागमनमा लगाइएको प्रतिबन्धले नागरिकको जीविकोपार्जन, शिक्षा तथा स्वास्थ्य सेवामा पहुँच प्रभावित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
ओसिएचएले मानवीय सहायता सामग्री भित्र्याउन लगाइएका प्रतिबन्ध हटाउन, विस्थापितलाई सुरक्षित रूपमा घर फर्कने वातावरण बनाउन तथा थप जबर्जस्ती विस्थापन रोक्न आग्रह गरेको छ । साथै, प्रभावित क्षेत्रमा सहायता टोलीको सुरक्षित र निर्बाध पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ।

