वैदेशिक रोजगारीको प्रलोभनमा ७० लाख ठगी गर्ने दुई जना पक्राउ
काठमाडौँ, १४ कात्तिकः वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रु ७० लाख ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउपर्नेमा दोलखाको मेलुङ गाउँपालिका–६ का २५ वर्षीय नोर्गेन मोक्तान र काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–९ की २४ वर्षीया सुस्मिता रसाइली रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार मोक्तानले कम्बोडिया पठाइदिने भन्दै रु ४० लाख र रसाइलीले क्यानडा पठाइदिने भन्दै रु ३० लाख लिएका थिए । रकम लिएपछि उनीहरू सम्पर्कविहीन भएको भन्दै पीडितले प्रहरीमा उजुरी दिएका थिए ।
उक्त उजुरीका आधारमा दुवै जनालाई पक्राउ गरिएको कार्यालयका प्रहरी उपरीक्षक शरतकुमार थापाक्षेत्रीले जानकारी दिनुभयो । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

