पदमपोखरीमा व्यावसायिक मेवाखेतीबाट किसानको आम्दानी बढ्दै
बागमती, १४ कात्तिकः हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरीका किसान व्यावसायिक मेवाखेतीमा आकर्षित भएका छन् । मेवाखेतीबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका १०० भन्दा बढी किसान यस व्यवसायमा आबद्ध भएका छन् ।
आधामार कृषक समूहका अध्यक्ष फेन्चु लामाका अनुसार पदमपोखरीमा सात वर्षदेखि व्यावसायिक मेवाखेती विस्तार भइरहेको छ । हाल यहाँ करिब ३० हजार मेवाका बोटबाट उत्पादन भइरहेको छ । सुन्तलीमाया वाइबाले मात्रै ३० कठ्ठा क्षेत्रफलमा मेवाखेती गर्नुभएको छ ।
अघिल्लो वर्ष पदमपोखरीबाट पाँच लाख किलोग्राम मेवा बिक्री भएको थियो । किसानका अनुसार उत्पादित मेवा बिक्री गर्न समस्या छैन । व्यापारी बारीमै आएर मेवा खरिद गर्ने क्रम बढेको छ ।
यहाँ उत्पादित मेवा विशेषगरी वीरगञ्ज, काठमाडौँ र पोखरालगायत सहरमा बिक्रीका लागि पुग्ने गरेको छ । पदमपोखरीको ठूलोथलीलगायत क्षेत्रमा मेवाखेती विस्तार भएको छ ।
ठूलोथलीकी किसान रञ्जुमाया घलानले आफ्नो फार्ममा ५५० बोट मेवा लगाउनुभएको छ । उहाँले अघिल्लो वर्ष रु तीन लाखको मेवा बिक्री गर्नुभएको थियो । मेवाखेतीबाट राम्रो आम्दानीको सम्भावना देखेपछि आफू यसतर्फ आकर्षित भएको उहाँले बताउनुभयो ।
तर, मेवाका पात कुहिने र फल झर्ने समस्या देखिन थालेको घलानले बताउनुभयो । समस्या समाधानका लागि प्राविधिकको सल्लाह लिने गरिएको उहाँको भनाइ छ ।
मेवाखेतीसहित व्यावसायिक फलफूल तथा तरकारीखेती विस्तारमा हेटौँडा उपमहानगरपालिकाले पनि प्रोत्साहन र बजारीकरणमा सहयोग गर्दै आएको नगर प्रमुख मीना लामाले बताउनुभयो । स्थानीय उत्पादनलाई किसानबाट सीधै उपभोक्तासम्म पुर्याउने उद्देश्यले दसैँअघि ‘आलीदेखि थालीसम्म’ नारासहित कृषि मेला आयोजना गरिएको थियो । मेलामा उपमहानगरभित्र उत्पादित कृषि उपजको प्रदर्शनी तथा बिक्री गरिएको थियो ।
उपमहानगरपालिकाको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा युवालाई स्वरोजगार बनाउने र कृषिमा आत्मनिर्भरता बढाउने योजनालाई प्राथमिकता दिइएको छ । परम्परागत खेतीसँगै आधुनिक फलफूलखेती प्रवर्द्धन गर्ने तथा कृषक समूह र सहकारीमार्फत व्यावसायिक कृषि कार्यक्रम सञ्चालन गर्ने नीति लिइएको छ ।
व्यावसायिक खेती विस्तारले स्थानीय रोजगारी र अन्य व्यवसायमा समेत प्रभाव पारेको छ । पछिल्लो समय पदमपोखरी क्षेत्रमा करिब २०० अटो सञ्चालनमा रहेको स्थानीय अटोचालक दीपक लामाले बताउनुभयो । कृषि उपजको ओसारपसार र स्थानीयको आवतजावत बढ्दा अटो व्यवसायलाई पनि फाइदा पुगेको उहाँको भनाइ छ ।

