Sunday 1st of November | २०८३ कार्तिक १५ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एनपिएलः पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १५ आइतबार |

काठमाडौँ, १५ कात्तिकः काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्नेक्रममा जनकपुर बोल्ट्सले आज सम्पन्न खेलमा पोखरा एभेन्जर्सलाई नौ रनले हरायो । 

    पोखराले भने प्रतियोगितामा हारको शृङ्खला तोड्न सकेको छैन । पोखरा पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग पनि पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा जनकपुरबाट प्राप्त १४८ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा नौ गुमाएर १३८ रन बनायो ।

    पोखराका लागि कुशल भूर्तेलले २४ बलमा पाँच चौकासहित सर्वाधिक ३५ रन बनाए । यस्तै, विपिन आचार्यले २०, विपिन खत्रीले अविजित १७ र किरण ठगुन्नाले १५ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अङ्कमा पनि रन जोड्न सकेनन् ।

    बलिङतर्फ जनकपुर बोल्ट्सका लागि मोइन अलीले चार ओभरमा एक मेडनसहित १३ रन दिएर सर्वाधिक तीन विकेट लिए । यस्तै, हरमित सिंह र सैफ हसनले समान दुई–दुई तथा जिमी निशम र ललितनारायण राजवंशीले एक–एक विकेट लिए ।

    त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४७ रन बनायो । जनकपुरका लागि प्रारम्भिक ब्याटर तृतराज दासले अर्धशतकीय इनिङ खेले । उनले ५५ बलमा सात चौका र दुई छक्काको मद्दतमा ६१ रनको इनिङ खेलेका हुन् ।

    जारी एनपिएल करिअरमा तृतराजको यो पहिलो अर्धशतक हो । यस्तै, मोइन अलीले १६ बलमा तीन चौका र एक छक्कासहित २१ रन बनाए । अविजित रहेका अभिषेक तिवारीले १० बलमा २ छक्का र १ चौकासहित २४ रनको उत्कृष्ट पारी खेले । जिमी निशम ११ रनमा आउट भए । 

    बलिङतर्फ पोखरा एभेन्जर्सका लागि शाकिब अल हसनले चार ओभरमा १५ रन दिएर सर्वाधिक तीन विकेट लिए । यस्तै, चमिका करुणारत्नेले दुई, मेहदी हसन र मोहम्मद सैफउद्दिनले समान एक–एक विकेट हात पारे । आजको जितपछि जनकपुर अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसले तीन खेलबाट चार अङ्क जोडेको छ । अङ्कविहीन पोखरा भने तालिकाको पुछारमा रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan