Saturday 7th of November | २०८३ कार्तिक २१ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २१ शनिबार | रासस/सिन्ह्वा

भारतको राजधानी दिल्लीमा वायु प्रदूषण बढेपछि सङ्घीय सरकारले शुक्रबारदेखि दिल्ली र आसपासका जिल्लामा प्रदूषण नियन्त्रणका कडा उपाय लागू गरेको छ ।

    वायु प्रदूषणको स्तर निरन्तर बढ्दै गएपछि गरिएको समीक्षा बैठकले ‘ग्रेडेड रेस्पोन्स एक्सन प्लान’ (जीआरएपी) को तेस्रो चरणका उपाय कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

    राजधानी र आसपासका क्षेत्रको वायु गुणस्तर व्यवस्थापनका लागि गठित आयोग (सीएक्यूएम) द्वारा जारी विज्ञप्तिअनुसार, प्रतिकूल मौसमी अवस्थाका कारण प्रदूषक तत्वहरू वायुमण्डलमा फैलिन नसक्दा नोभेम्बर ६ मा दिल्लीको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ३८२ पुगेको थियो । यो स्तर अत्यन्त खराब श्रेणीमा पर्छ ।

    आयोगले सम्पूर्ण राष्ट्रिय राजधानी क्षेत्र (एनसीआर) मा तत्काल लागू हुने गरी जीआरएपीको तेस्रो चरण कार्यान्वयनमा ल्याएको जनाएको छ । साथै, सम्बन्धित क्षेत्रका प्रदूषण नियन्त्रण निकायलाई यी उपाय कडाइका साथ पालना गराउन निर्देशन दिएको छ ।

    तेस्रो चरणअन्तर्गत अत्यावश्यकबाहेकका सबै निर्माण तथा भत्काउने कार्यमा प्रतिबन्ध लगाइएको छ । यसमा उत्खनन्, माटो पुर्ने, बोरिङ, ड्रिलिङ, पाइलिङ, इँटा लगाउने, चिनाइ, सडक निर्माण तथा ठूला मर्मतसम्भारका काम समावेश छन् ।

    त्यसैगरी, दिल्ली र आसपासका राष्ट्रिय राजधानी क्षेत्रका जिल्लामा बीएस–३ मापदण्डका पेट्रोल तथा बीएस–४ मापदण्डका डिजेलबाट चल्ने चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बीएस अर्थात् भारत स्टेज सवारीसाधनबाट हुने प्रदूषण नियन्त्रणका लागि सरकारले निर्धारण गरेको उत्सर्जन मापदण्ड हो ।

    स्वास्थ्य विज्ञहरूले स्थानीय बासिन्दालाई बिहान सबेरै र सूर्यास्तपछि बाहिर निस्केर गरिने गतिविधि नगर्न तथा लामो समयसम्म वा बढी शारीरिक श्रम गर्नुपर्ने कामबाट जोगिन सुझाव दिएका छन् । श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिलाई घरबाहिरका सबै प्रकारका शारीरिक गतिविधिबाट टाढा रहन पनि आग्रह गरिएको छ ।

    दिल्ली विश्वकै सबैभन्दा बढी वायु प्रदूषण हुने सहरमध्ये एक हो । औद्योगिक गतिविधि, सवारीसाधनको चाप र व्यापक निर्माण कार्य यहाँको वायु प्रदूषणका प्रमुख कारण हुन् । विगतका वर्षहरूमा पनि जाडो मौसम सुरु हुनुअघि दिल्लीको वायु गुणस्तर अत्यन्त खराब अवस्थामा पुग्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan