Wednesday 11th of November | २०८३ कार्तिक २५ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भक्तपुरमा परम्परागत विधिअनुसार किजापूजा मनाइयो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २५ बुधबार |

ख्वप (भक्तपुर), २४ कात्तिकः नेवार समुदायमा दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मीयताको प्रतीकका रूपमा मनाइने किजापूजा (भाइटीका) आज भक्तपुरलगायत नेवार समुदायको बसोबास रहेका विभिन्न स्थानमा हर्षोल्लासका साथ मनाइएको छ ।

स्वन्ति नखाःअन्तर्गत लक्ष्मीपूजा, म्हःपूजा र किजापूजा क्रमशः कात्तिक २२, २३ र २४ गते मनाउने निर्णयअनुसार आज किजापूजा मनाइएको हो । तिथिका विषयमा विभिन्न पात्रोमा फरक–फरक मिति सार्वजनिक भएपछि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा तलेजुका पुजारी, ज्योतिष, कर्माचार्य, नवदुर्गा देवगण तथा जात्रा व्यवस्थापन समितिका पदाधिकारीलगायत सरोकारवालाको बैठकले पर्व मनाउने मिति निर्धारण गरेको थियो ।

म्हःपूजाको भोलिपल्ट मनाइने यस पर्वमा दिदीबहिनीले दाजुभाइको घरमा पुगेर विशेष विधिपूर्वक पूजा गर्ने परम्परा छ । यस पर्वले परिवारका सदस्यबीचको सम्बन्ध प्रगाढ बनाउनुका साथै आपसी माया, विश्वास र सहयोगको भावना अभिवृद्धि गर्ने विश्वास गरिन्छ ।

किजापूजाका दिन पहिले भुइँमा रातो माटोले लिपेर चामलको पीठोबाट मण्डल बनाउने गरिन्छ । त्यसपछि मण्डल अगाडि दाजुभाइलाई राखेर विधिपूर्वक पूजा गरिन्छ । पूजाका क्रममा मण्डलमा बत्ती बाल्ने, विभिन्न सामग्री चढाउने र सगुन दिने चलन छ ।

किजापूजामा विशेषगरी बिमिरो, ओखर, मखमली फूलको माला, धागो (क्वखा), फलफूल तथा विभिन्न परिकार चढाइन्छ । नेवार समुदायमा अण्डा, माछा, मासु, बारा र रक्सीसमेत समावेश भएको पाँच प्रकारको सगुन दिने परम्परा छ । यसलाई पञ्चतत्त्वको प्रतीकका रूपमा लिइन्छ । दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाइदिई मखमली फूलको माला र प्रसाद प्रदान गर्छन् । त्यसपछि दाजुभाइले पनि दिदीबहिनीलाई दक्षिणा वा लत्ताकपडा उपहार दिने चलन छ ।

भक्तपुरकी सुनिता सुवालका अनुसार किजापूजामा दिदीले भाइलाई मात्र नभई बहिनीले दाइलाई पनि पूजा गर्ने परम्परा छ । परिवारका सबै सदस्य एकै ठाउँमा भेला भएर मनाउने यस पर्वमा दिदीबहिनीले उमेरक्रमअनुसार दाजुभाइलाई पूजा गर्ने र फुपूले भतिजालाई पूजा गर्ने चलनसमेत रहेको उहाँले बताउनुभयो । यो परम्परा भक्तपुरका नेवार समुदायमा पुस्तौँदेखि घरघरमा निरन्तर चल्दै आएको उहाँको भनाइ छ ।

इतिहासविद् मुक्तिसुन्दर जधारीका अनुसार किजापूजासँग यमराज र यमुनाको पौराणिक कथासमेत जोडिएको छ । पौराणिक मान्यताअनुसार यमुनाले आफ्ना दाजुलाई मृत्युबाट जोगाउन यमराजसँग विभिन्न सर्त राखेर पूजा गर्नुभएको थियो। मखमली फूल नओइलाएसम्म र तेलको घेरा नसुकेसम्म दाजुभाइलाई मृत्युले नछुने विश्वासका साथ पूजा गरिएको कथन छ । यही मान्यताका आधारमा दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै किजापूजा गर्ने परम्परा बसेको विश्वास गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan