अवैध फूलमाला भित्र्याउने प्रयास, रु ३९ लाख ७८ हजारको बरामद
झापा, २५ कात्तिकः सशस्त्र प्रहरी बलले झापाका विभिन्न सीमावर्ती क्षेत्रबाट रु ३९ लाख ७८ हजार ७०० मूल्य बराबरका अवैध भारतीय फूलमाला बरामद गरेको छ ।
काँकडभिट्टा, भद्रपुर र केचनालगायत भारतसँग सीमा जोडिएका क्षेत्रबाट नेपालतर्फ अवैध रूपमा भित्र्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको गस्ती तथा चेकजाँच टोलीले दुई दिनमा उक्त फूलमाला नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नं २ गण भद्रपुरका गणपति सचिन कर्माचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज रु १४ लाख १५ हजार ३०० र सोमबार रु २५ लाख ६३ हजार ४०० मूल्य बराबरका फूलमाला बरामद गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय झापाले भारतबाट फूलमाला आयातमा रोक लगाउँदै यस वर्षको पर्वमा स्वदेशी फूल प्रयोग गर्न आग्रह गर्दै आएको छ । प्रशासनले अवैध रूपमा भित्र्याइएका फूलमाला नियन्त्रणमा लिन सुरक्षा निकायलाई निर्देशन दिएको थियो ।
बरामद गरिएका फूलमाला जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, प्लान्ट क्वारेन्टिन, जनप्रतिनिधि तथा उद्योग वाणिज्य सङ्घका प्रतिनिधिको उपस्थितिमा नष्ट गरिएको जनाइएको छ ।
जुवा खेल्ने २२ जना पक्राउ
यसैबीच, झापामा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले दुई स्थानमा छापा मारेर २२ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी सुवास बुढाथोकीका अनुसार दमक नगरपालिका–१० स्थित स्वास्थ्यचौकी नजिकैको गोठमा जुवा खेलिरहेको अवस्थामा आज बिहान १० जनालाई पक्राउ गरिएको हो । उनीहरूको साथबाट १५ थान कौडा, नौ थान मोबाइल र रु ८९ हजार ७१० नगद बरामद गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, कमल गाउँपालिका–५ स्थित गीता भट्टराईको घरमा हारजित हुने गरी तास खेलिरहेको अवस्थामा घरधनी भट्टराईसहित १२ जनालाई पक्राउ गरिएको बुढाथोकीले जानकारी दिनुभयो ।
उनीहरूको साथबाट पाँच बुङ तास र नौ थान मोबाइल बरामद भएको छ । पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।


