Tuesday 17th of November | २०८३ मङ्सिर १ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

वर्दीको जिम्मेवारीबीच संगीतमा कमल थापाको ‘पिरतीको मिठो धुन’, अनुभवलाई शब्दमा उतार्दै प्रहरी अधिकृत

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १ मंगलबार |
newsabhiyan

ड्युटीको कठोरता, जीवनका भोगाइ र प्रेमका अनुभूतिलाई गीतमा पोख्दै एसएसपी थापा सांगीतिक यात्रामा सक्रिय

काठमाडौं । प्रहरीको वर्दी, काँधमा जिम्मेवारी र समाजमा शान्ति सुरक्षा कायम गर्ने चुनौतीपूर्ण दैनिकी । सामान्यतया प्रहरी अधिकृतको परिचय यतिमै सीमित हुन्छ । तर नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कमल थापा भने वर्दीभित्र अर्को एउटा संवेदनशील र सिर्जनशील व्यक्तित्व पनि बोकेर हिँडिरहेका छन् ।

अपराध नियन्त्रण र शान्ति सुरक्षाको जिम्मेवारीसँगै साहित्य र संगीतमा रमाउने थापाको शब्द रचनामा तयार भएको नयाँ गीत ‘पिरतीको मिठो धुन’ सार्वजनिक भएको छ ।

चर्चित गायिका अन्जु पन्त र गायक ताराप्रकाश लिम्बुको स्वर रहेको गीतको भिडियोसमेत सार्वजनिक गरिएको हो । प्रेमिल भावनालाई शब्द र संगीतको माध्यमबाट अभिव्यक्त गरिएको गीतमा थापाको सिर्जनात्मक क्षमता झल्किएको छ । भिडियोमा प्रदीप लामा र जुना सुन्दासको प्रस्तुति रहेको छ ।

प्रहरी सेवाको व्यस्तता, अनुशासन र चुनौतीपूर्ण जिम्मेवारीबीच सिर्जनालाई निरन्तरता दिनु आफैँमा फरक पहिचान हो । थापाले भने प्रहरी सेवाको कठोर दैनिकीलाई सिर्जनाको बाधक होइन, बरु जीवन बुझ्ने र शब्द जन्माउने आधार बनाएका छन् ।

उनका लागि गीत केवल मनोरञ्जनको साधन होइन, जीवनमा भेटिएका मानिस, देखिएका दृश्य र भोगिएका अनुभवलाई सुरक्षित राख्ने माध्यम पनि बनेको छ ।

विशेषगरी द्वन्द्वकालमा सुदूरपश्चिम र मध्यपश्चिमका दुर्गम क्षेत्रमा लामो समय खटिँदा उनले समाजका अनेक रूप नजिकबाट देख्ने अवसर पाए ।

गाउँबेसीको जीवन, अभाव, संघर्ष, मानवीय संवेदना, प्रेम र सम्बन्धका अनेक आयाम उनका सिर्जनाका विषय बनेका छन् । सेवाका क्रममा प्राप्त अनुभव र आफ्नै जीवनका उतारचढावलाई उनले गीतका शब्दमा उतार्दै आएका छन् ।

‘हिउँचुलीमा हिउँ छैन’ र ‘सल्लेरी’ जस्ता गीतमा तत्कालीन समय, उमेर र परिवेशका अनुभूतिलाई उनले शब्द दिएका छन् । लामो समय कागजमै सीमित रहेका आफ्ना सिर्जनालाई पछिल्लो समय श्रव्य तथा दृश्य माध्यमबाट श्रोतामाझ पुर्‍याउन थालेका हुन् ।

थापाको सिर्जनामा जन्मभूमिप्रतिको मोह र प्रकृतिसँगको आत्मीय सम्बन्ध पनि उत्तिकै बलियो देखिन्छ । यसको उदाहरण हो, ‘पहाडकी रानी’ ।

आफ्नो जन्मभूमि इलामप्रतिको श्रद्धा र भावनात्मक सम्बन्ध समेटिएको उक्त गीतमा ताराप्रकाश लिम्बुको संगीत रहेको छ । गीतको मेल भर्सनमा नेपाल आइडल विजेता करण परियार र फिमेल भर्सनमा अनु चौधरीले स्वर दिएका छन् ।

त्यस्तै, ‘पछ्यौरी’ गीतमार्फत समयको बहावले मानिसलाई थाहै नपाई जीवनको अर्को किनारमा पुर्‍याउने यथार्थलाई उनले ठट्यौलो शैलीमा प्रस्तुत गरेका छन् । समीर खरेलको संगीत र स्वर रहेको उक्त गीतले जीवनका अनुभूतिलाई फरक स्वादमा अभिव्यक्त गरेको छ ।

‘भकारीमा धान भरियो’, ‘हावा जस्तै उडौँला’ र ‘म पनि त’ लगायतका उनका सिर्जना अडियो माध्यमबाट सार्वजनिक भइसकेका छन् । गायक राजेशपायल राईको स्वरमा रहेको ‘मेरो टेन्सन’ लगायत केही फिल्मी गीतमा समेत थापाका शब्द समेटिएका छन् ।

थापाका अनुसार सिर्जनाको स्रोत कुनै निश्चित स्थान वा समय मात्र होइन । मानिससँगको भेटघाट, यात्रा, प्रकृति र सेवाका क्रममा देखिने सामान्य दृश्यले समेत गीतको जन्म गराउन सक्छन् ।

उनी भन्छन्, ‘भेटिएका हरेक मानिससँग केही कथा हुन्छन् । घुमेका हरेक ठाउँमा विशिष्ट शब्द र अनुभूति हुन्छन् । कहिलेकाहीँ ड्युटीका बीचमा देखिएको दृश्य नै गीतको प्रेरणा बन्छ भने कहिलेकाहीँ कुनै पुरानो स्मृतिले शब्दहरू जन्माउँछ ।’

आफ्ना रचनाहरू सार्वजनिक गर्न हतार नगर्ने उनको स्वभाव पनि रोचक छ । तत्काल चर्चामा आउनेभन्दा आफूले भोगेका समय, पुगेका स्थान र त्यहाँका समाजप्रतिको सम्मानलाई सिर्जनामार्फत जीवन्त राख्ने उनको चाहना देखिन्छ । त्यसैले उनका गीतमा व्यक्तिगत प्रेमदेखि जन्मभूमि, प्रकृति र सामाजिक परिवेशसम्मका विषयले स्थान पाएका छन् ।

प्रहरी सेवामा रहँदा हरेक दिन अनुशासन, कानुन र जिम्मेवारीसँग जुध्नुपर्ने थापाका लागि संगीत सम्भवतः मनका अनुभूति पोख्ने अर्को संसार बनेको छ । वर्दीले उनलाई कर्तव्यको सीमाभित्र बाँधेको छ, तर सिर्जनाले जीवनका अनेक रंगमा विचरण गर्ने स्वतन्त्रता दिएको छ ।

आगामी दिनमा पनि आफ्ना सिर्जनाहरू क्रमशः सार्वजनिक गर्दै जाने उनको योजना छ । ‘पिरतीको मिठो धुन’ सार्वजनिक भएसँगै थापाको सांगीतिक यात्राले अर्को खुड्किलो पार गरेको छ ।

प्रहरी अधिकृतको परिचयभित्र लुकेको साहित्यिक र सांगीतिक व्यक्तित्वलाई उनका गीतले क्रमशः श्रोतामाझ चिनाउँदै लगेका छन् । आखिर, वर्दी लगाउने व्यक्ति पनि भावना, प्रेम, स्मृति र संवेदनाबाट अलग हुँदैन भन्ने सन्देश उनका सिर्जनाले दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan