Tuesday 17th of November | २०८३ मङ्सिर १ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्रिय कर दिवसः करदाता सम्मानसहित साताव्यापी कार्यक्रम सुरु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १ मंगलबार |

काठमाडौं । राष्ट्रिय कर दिवसको अवसरमा सरकारले करको दायरा विस्तार, करदाता शिक्षा अभिवृद्धि, डिजिटल कर सेवाको प्रवर्द्धन तथा कर प्रशासनलाई पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित साताव्यापी कार्यक्रम सुरु गरेको छ।

राष्ट्रिय कर दिवसका अवसरमा आज आन्तरिक राजस्व विभागमा आयोजित विशेष कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कर योगदान पुर्‍याउने १९ व्यक्ति तथा संस्थालाई सम्मान गरिएको छ।

‘कर न्याय र सुशासनको सुनिश्चितताः समृद्धिमा नागरिक सहभागिता’ भन्ने मूल नाराका साथ सुरु भएको साताव्यापी कार्यक्रमअन्तर्गत करदाता सम्मान, प्रभातफेरी, शुभकामना आदानप्रदान, निजी क्षेत्रसँग अन्तरक्रिया तथा करदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने विभागले जनाएको छ। विभागअन्तर्गतका कार्यालयहरूले समेत आ–आफ्नो कार्यक्षेत्रका तीन–तीन जना करदातालाई सम्मान गर्ने कार्यक्रम रहेको छ।

कार्यक्रमअन्तर्गत करको दायरा विस्तार, करसम्बन्धी स्किमको कार्यान्वयन, डिजिटल कर सेवाको प्रवर्द्धन तथा बिल लिने–दिने संस्कृतिको विकासका लागि विभिन्न सचेतनामूलक गतिविधि सञ्चालन गरिनेछ। त्यसैगरी, काठमाडौं उपत्यकाका विभिन्न स्थानमा कर सचेतनासम्बन्धी डिस्प्ले बोर्ड राखेर नागरिकलाई करप्रति जागरुक बनाइनेछ।

शैक्षिक परामर्श तथा ओभरसिज कम्पनीलाई लक्षित गरी विशेष कार्यक्रम सञ्चालन गर्नुका साथै उद्योग वाणिज्य संघहरूसँगको सहकार्यमा कर सचेतना अभियान अघि बढाइनेछ। स्थानीय तह तथा कोष तथा लेखा नियन्त्रक कार्यालयका कर्मचारीलाई राजस्वसम्बन्धी प्रशिक्षण दिने कार्यक्रमसमेत तय गरिएको छ।

सरकारले करलाई राष्ट्र निर्माणमा नागरिकको प्रत्यक्ष सहभागिताका रूपमा लिँदै कर प्रशासनलाई भ्रष्टाचारमुक्त, पारदर्शी, सरल र प्रविधिमैत्री बनाउने लक्ष्य राखेको छ। साथै, नागरिकले आफूले तिरेको करको प्रत्यक्ष प्रतिफल अनुभूति गर्न सक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको जनाएको छ।

साताव्यापी कार्यक्रममार्फत कर तिर्ने संस्कृतिको विकास, करदाताको सम्मान र राजस्व प्रणालीप्रति नागरिकको विश्वास अभिवृद्धि गर्ने सरकारको अपेक्षा छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan