Tuesday 17th of November | २०८३ मङ्सिर १ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पाकिस्तानको आर्थिक वृद्धिदर ३.५–४.५ प्रतिशत रहने केन्द्रीय बैंकको अनुमान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १ मंगलबार | रासस/सिन्ह्वा

पाकिस्तानको केन्द्रीय बैंक स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) ले आर्थिक वर्ष २०२६–२७ मा मुलुकको आर्थिक वृद्धिदर ३.५ देखि ४.५ प्रतिशतसम्म रहने प्रक्षेपण गरेको छ ।
केन्द्रीय बैंकले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०२५–२६ को अर्थतन्त्रसम्बन्धी वार्षिक प्रतिवेदनमा आन्तरिक मागमा सुधार तथा कृषि र औद्योगिक क्षेत्रको उत्पादनमा वृद्धि हुने अपेक्षाका आधारमा आर्थिक वृद्धि हुने जनाएको हो ।

प्रतिवेदनअनुसार वैदेशिक रोजगारीमा रहेका पाकिस्तानी नागरिकबाट प्राप्त हुने विप्रेषण (रेमिट्यान्स) निरन्तर बढ्ने अपेक्षा गरिएको छ । यसले आर्थिक वर्ष २०२६–२७ मा चालु खाता घाटा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को शून्यदेखि एक प्रतिशतको सीमाभित्र राख्न सहयोग पुग्नेछ ।
धान, उखु र मकैजस्ता प्रमुख खरीफ बालीको उत्पादन अघिल्लो वर्षको तुलनामा बढ्ने अनुमान गरिएको छ । यद्यपि, एल निनोको प्रभाव तीव्र बन्दै जाँदा कृषि उत्पादनमा जोखिम उत्पन्न हुन सक्ने चेतावनी पनि प्रतिवेदनमा दिइएको छ ।

आर्थिक गतिविधि विस्तार र विश्व बजारमा वस्तुको मूल्य बढ्ने कारण आयातमा वृद्धि हुने अपेक्षा गरिएको छ । त्यस्तै, सरकारी नीतिगत प्रोत्साहन र विश्व बजारको मागमा सुधारसँगै निर्यातमा पनि मध्यम सुधार आउने अनुमान गरिएको छ ।
केन्द्रीय बैंकका अनुसार गत सेप्टेम्बरमा तीन अर्ब अमेरिकी डलर बराबरको युरोबन्ड जारी गरिएको, विदेशी मुद्रा खरिद तथा अपेक्षित सरकारी वैदेशिक सहायता र वित्तीय प्रवाहले विदेशी मुद्रा सञ्चिति बढाउन सहयोग गर्नेछ । यसबाट सञ्चितिले करिब चार महिनाको आयात धान्न सक्ने लक्ष्य राखिएको छ ।
विश्व बजारमा ऊर्जा मूल्य बढ्दा मुद्रास्फीतिमा दबाब पर्ने भए पनि आर्थिक वर्ष २०२६–२७ मा मुद्रास्फीति क्रमशः घट्दै मध्यम अवधिको ५ देखि ७ प्रतिशतको लक्ष्य दायरामा पुग्ने केन्द्रीय बैंकको अनुमान छ ।

आर्थिक वर्ष २०२५–२६ को समीक्षा गर्दै केन्द्रीय बैंकले विश्वव्यापी तथा आन्तरिक चुनौतीका बाबजुद पाकिस्तानको अर्थतन्त्रले लचिलोपन प्रदर्शन गरेको जनाएको छ । उत्पादनमूलक उद्योगको उत्पादनमा सुधार, सरकारी वित्तीय अनुशासन र विप्रेषणको बलियो प्रवाहले समष्टिगत आर्थिक स्थिरता कायम राख्न सहयोग गरेको प्रतिवेदनमा उल्लेख छ ।
यद्यपि, दिगो आर्थिक वृद्धि हासिल गर्न निजी लगानी प्रोत्साहन, पूर्वाधार विकास, सीप अभिवृद्धि, कर प्रणालीलाई सरल बनाउने तथा नीतिगत अनिश्चितता घटाउनेलगायतका संरचनात्मक सुधार आवश्यक रहेको केन्द्रीय बैंकले औँल्याएको छ ।

त्यसैगरी, जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा पर्न सक्ने जोखिम न्यूनीकरण गर्न समयमै उपाय अपनाउनुपर्ने र खाद्य सुरक्षामा असर नपर्ने गरी कृषि क्षेत्रमा सौर्य ऊर्जाको प्रयोगलाई व्यवस्थित रूपमा विस्तार गर्नुपर्ने सुझाव पनि प्रतिवेदनले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan