अस्ट्रेलियामा लैङ्गिक पारिश्रमिक असमानता घट्दै ः प्रतिवेदन
अस्ट्रेलियामा महिला र पुरुषबीचको औसत पारिश्रमिक अन्तर पहिलोपटक २० प्रतिशतभन्दा तल झरेको सरकारी प्रतिवेदनले देखाएको छ ।
कार्यस्थल लैङ्गिक समानता निकाय (डब्लूजीईए) ले बुधबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०२५–२६ मा देशको औसत लैङ्गिक पारिश्रमिक अन्तर घटेर १९.७ प्रतिशतमा पुगेको छ । आर्थिक वर्ष २०२४–२५ मा यस्तो अन्तर २१.१ प्रतिशत थियो। सन् २०१३–१४ मा पहिलोपटक तथ्यांक सार्वजनिक गर्दा यो अन्तर २८.६ प्रतिशत रहेको थियो । प्रतिवेदनअनुसार वार्षिक औसत आम्दानीका आधारमा पुरुषले महिलाभन्दा २७ हजार ४६७ अस्ट्रेलियन डलर (करिब १८ हजार ४६५ अमेरिकी डलर) बढी कमाउने गरेका छन् ।
डब्लूजीईएका प्रमुख कार्यकारी अधिकृत क्रिस्टिन क्यास्लेले पारिश्रमिक अन्तर पहिलोपटक २० प्रतिशतभन्दा तल झर्नुलाई महत्त्वपूर्ण उपलब्धि भएको बताउँदै लैङ्गिक समानताको लक्ष्य हासिल गर्न अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गनुभएको छ ।
उहाँका अनुसार पारिश्रमिक अन्तरले विभिन्न प्रकारका कामलाई दिइने महत्त्व, पेसागत उन्नतिका अवसरमा पहुँच र हेरचाहसम्बन्धी जिम्मेवारीको असमान वितरणलाई प्रतिबिम्बित गर्छ । प्रतिवेदनअनुसार अस्ट्रेलियाको कुल कर्मचारीमध्ये महिलाको हिस्सा ५१ प्रतिशत छ। व्यवस्थापकीय पदमा उनीहरूको प्रतिनिधित्व ४४ प्रतिशत भए पनि प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा भने २४ प्रतिशत मात्रै छ । महिलाहरू तुलनात्मक रूपमा कम पारिश्रमिक पाइने उद्योग तथा पेसामा बढी केन्द्रित रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।
यस वर्षको प्रतिवेदनमा पहिलोपटक संघीय सार्वजनिक सेवाको तथ्यांकसमेत समावेश गरिएको छ । सार्वजनिक क्षेत्रमा लैङ्गिक पारिश्रमिक अन्तर ७.८ प्रतिशत रहेको छ भने निजी क्षेत्रमा २०.३ प्रतिशत छ । महिला र पुरुषबीच समान पारिश्रमिक सुनिश्चित गर्न संरचनागत अवरोध हटाउनु आगामी प्राथमिकता हुनुपर्ने क्यास्लेले बताउनुभएको छ ।


