Tuesday 24th of November | २०८३ मङ्सिर ८ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

उच्च मुद्रास्फीति र ब्याजदरले अष्ट्रेलियाको अर्थतन्त्र संकटमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ८ मंगलबार | (रासस/सिन्ह्वा)

अष्ट्रेलियामा आर्थिक मन्दी (रिसेसन) आउने जोखिम बढ्दै गएको भन्दै वित्तीय सेवा तथा लगानी बैंकिङ समूह म्याक्वेरीले चेतावनी दिएको छ । समूहका अनुसार मुलुकमा आर्थिक मन्दीको जोखिम करिब ५० प्रतिशत नजिक पुगेको छ ।

म्याक्वेरी समूहका प्रमुख अर्थशास्त्री तथा म्याक्रो रणनीति प्रमुख रिक डेभरेलले अष्ट्रेलियाको अर्थतन्त्रको गति कमजोर हुँदै गएको संकेत देखिएको बताउनुभएको छ । उहाँका अनुसार व्यवसायीहरूको कमजोर मनोबल र आर्थिक गतिविधिमा आएको सुस्तताले सन् २०२६ को अन्तिम त्रैमासिकमा अर्थतन्त्र संकुचित हुन सक्ने सम्भावना देखाएको छ ।

डेभरेलले अष्ट्रेलियाका विभिन्न व्यावसायिक सर्वेक्षणहरूले आर्थिक गतिविधिमा उल्लेखनीय सुस्तता आएको संकेत गरिरहेको बताउनुभयो । यद्यपि, म्याक्वेरीको आन्तरिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अनुमानअनुसार चौथो त्रैमासिकमा अर्थतन्त्र संकुचित हुने सम्भावना कम देखिए पनि त्यसलाई पूर्ण रूपमा अस्वीकार गर्न नसकिने उहाँको भनाइ छ ।

म्याक्वेरीका अनुसार उच्च मुद्रास्फीति, बढ्दो ब्याजदर र बेरोजगारीमा भइरहेको वृद्धिका कारण घरपरिवारहरू एकैपटक आर्थिक दबाबमा परेका छन् । यी परिस्थितिले अष्ट्रेलियामा आर्थिक मन्दीको जोखिम बढाएको समूहको विश्लेषण छ ।

यसअघि एचएसबीसीका अष्ट्रेलिया तथा न्युजिल्यान्डका प्रमुख अर्थशास्त्री पल ब्लक्सहमले पनि आगामी केही त्रैमासिक अवधिमा अष्ट्रेलियाको आर्थिक वृद्धि ठप्प हुन सक्ने प्रक्षेपण गर्नुभएको थियो। उहाँले समेत आर्थिक मन्दीको सम्भावना ५० प्रतिशत रहेको बताउनुभएको थियो ।

सोमबार संघीय संसद्मा अर्थतन्त्रसम्बन्धी धारणा प्रस्तुत गर्दै अष्ट्रेलियाका कोषाध्यक्ष जिम चाल्मर्सले मुद्रास्फीति र उच्च ब्याजदरका कारण आगामी दुई वर्षसम्म वार्षिक जीडीपी वृद्धि दुई प्रतिशतभन्दा निकै तल झर्न सक्ने बताउनुभयो ।

यद्यपि, कोषाध्यक्ष र केन्द्रीय बैंक दुवैले अर्थतन्त्र ऋणात्मक दिशामा जाने अर्थात् संकुचन हुने अपेक्षा नगरेको उहाँले स्पष्ट पार्नुभयो ।

चाल्मर्सले सन् २०२६ अष्ट्रेलियाका नागरिक, अर्थतन्त्र र विश्व समुदायका लागि निकै कठिन वर्ष रहेको उल्लेख गर्दै आगामी दिनमा परिस्थिति सहज हुनुअघि थप चुनौती सामना गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभयो ।

अष्ट्रेलियाको तथ्याङ्क विभागले बुधबार अक्टोबर महिनाको मुद्रास्फीतिसम्बन्धी तथ्याङ्क सार्वजनिक गर्ने तयारी गरेको छ। कोषाध्यक्ष चाल्मर्सका अनुसार इन्धनको मूल्यमा भएको तीव्र वृद्धिका कारण समग्र मुद्रास्फीति निकै उच्च रहने अर्थशास्त्रीहरूको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan