पाकिस्तानको कराँचीमा भवन भत्किँदा मृत्यु हुनेको संख्या ११ पुग्यो
पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा छ तले भवन भत्किँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ । भग्नावशेषबाट शनिबार थप तीन जनाको शव निकालिएपछि मृतकको संख्या बढेको उद्धार अधिकारीहरूले बताएका छन् । घटनामा कम्तीमा आठ जना अझै बेपत्ता छन् ।
सिन्ध प्रान्तको कराँचीस्थित बालोच कोलोनीमा बुधबार निर्माणाधीन छत तले भवन भत्किएको थियो । सुरुमा घटनामा तीन जनाको मृत्यु हुनुका साथै १४ जना घाइते भएका थिए । भग्नावशेषमा पुरिएकाहरूको खोजीका लागि उद्धार टोलीले भारी मेसिन र विशेष उपकरण प्रयोग गरिरहेको छ ।
यसअघि शुक्रबार करिब ५४ घण्टासम्म भग्नावशेषमा पुरिएका २८ वर्षीय एक पुरुषलाई जीवितै उद्धार गरिएको थियो ।
घटनापछि सिन्धका मुख्यमन्त्री मुराद अली शाहले तीन अधिकारीलाई पदबाट हटाउन, १६ कर्मचारीलाई निलम्बन गर्न र घटनाबारे छानबिन गर्न निर्देशन दिनुभएको छ । निर्माणमा कमसल सामग्री प्रयोग गरेको आरोपमा भवनका मालिक, ठेकेदार तथा प्राविधिकविरुद्ध प्रहरीमा मुद्दासमेत दर्ता गरिएको छ ।
