Monday 23rd of November | २०८३ मङ्सिर ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रेस युनियनको १०औँ संघीय महाधिवेशन माघ १६ र १७ गते काठमाडौंमा हुने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर ६ आइतबार |

शाखा अधिवेशन मंसिर ३० भित्र सम्पन्न गर्न निर्देशन, पत्रकार पक्राउ र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपप्रति आपत्ति

काठमाडौं । नेपाल प्रेस युनियनको १०औँ संघीय महाधिवेशन आगामी माघ १६ र १७ गते काठमाडौंमा आयोजना हुने भएको छ। नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा नवलपरासीको सुस्ता गाउँपालिका–५, नारायणी नदीपारि सुस्तामा मंसिर ४ र ५ गते सम्पन्न केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तय गरेको हो।

नेपाल प्रेस युनियन नवलपरासी शाखाको आतिथ्यतामा सम्पन्न बैठकले संगठनको महाधिवेशन कार्यतालिका सार्वजनिक गर्दै बाँकी रहेका सबै शाखाको अधिवेशन मंसिर ३० गते एकै दिन सम्पन्न गर्ने निर्णय गरेको छ। तोकिएको मितिमा अधिवेशन नगर्ने शाखालाई प्रदेश तथा संघीय महाधिवेशनमा सहभागी हुन नदिने निर्णयसमेत बैठकले गरेको छ।

त्यसैगरी, प्रदेश समितिका अधिवेशन आगामी पुस १६ देखि २५ गतेभित्र सम्पन्न गर्ने निर्णय गरिएको छ। अधिवेशन सम्पन्न भएका शाखाहरूलाई संगठन विस्तार, सुदृढीकरण तथा नियमित गतिविधि सञ्चालन गर्न निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ।

बैठकले पछिल्लो समय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेपप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। सञ्चार गृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गर्ने, पत्रकार तथा सञ्चारमाध्यममाथि धरपकड गर्ने, धम्की दिने र विभिन्न दबाब सिर्जना गर्ने कार्यप्रति आपत्ति जनाउँदै यस्ता गतिविधि तत्काल बन्द गर्न सरकारसँग माग गरेको छ। साथै, यस्ता घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न पनि माग गरेको छ।

निजी सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीले श्रमअनुसारको पारिश्रमिक नियमित रूपमा पाउने व्यवस्था सुनिश्चित गर्न बैठकले सरकार तथा सञ्चारमाध्यम सञ्चालकहरूको ध्यानाकर्षण गराएको छ। सरकारी सञ्चारमाध्यमबाट राजनीतिक प्रतिशोधका आधारमा पत्रकारलाई निष्कासन गर्ने कार्य रोक्न र निष्कासित पत्रकारलाई न्यायोचित रूपमा पुनर्बहाली गर्न पनि माग गरिएको छ।

त्यस्तै, प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश फिर्ता लिई संसद्मा पर्याप्त छलफल तथा सरोकारवाला पक्षसँग परामर्श गरेर लोकतान्त्रिक प्रक्रियाबाट कानुन निर्माण गर्न सरकारलाई आग्रह गर्ने निर्णय बैठकले गरेको छ।

निजी सञ्चारमाध्यमले प्राप्त गर्दै आएको लोककल्याणकारी विज्ञापनबापतको रकम कटौती गर्ने निर्णयप्रति विरोध जनाउँदै बैठकले उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेको छ। सञ्चारमाध्यमको संरक्षण र प्रवर्द्धन गर्ने नीति अवलम्बन गर्न सरकारमाथि दबाब सिर्जना गर्ने निर्णयसमेत गरिएको छ।

बैठकले नवलपरासीको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व बोकेको त्रिवेणीधामस्थित गजेन्द्रमोक्ष स्थलको समग्र विकासमा जोड दिएको छ। स्वामी कमलनयनाचार्यले अघि सारेका पूर्वाधार निर्माण, नारायणी नदीको कटान नियन्त्रण तथा त्यहाँ प्रस्तावित विश्वविद्यालयका लागि आवश्यक बजेट र कार्यक्रमको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरिएको छ। साथै, चितवनको माडी नगरपालिका–१ स्थित वाल्मीकि आश्रम तथा त्यहाँ रहेका ऐतिहासिक मूर्तिहरूको संरक्षण गर्न पनि सरकारसँग आग्रह गरिएको छ।

भारतसँग सीमा जोडिएको नवलपरासीको सुस्ता क्षेत्रका नागरिकले भोग्दै आएका सीमा विवाद, नदी कटान, सुरक्षा, आवागमन, जग्गा तथा सम्पत्तिको संरक्षण र आधारभूत सेवा सुविधासम्बन्धी समस्या तत्काल समाधान गर्न बैठकले सरकारसँग माग गरेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा सुस्तावासीले लामो समयदेखि भोग्दै आएका समस्या तथा सीमा क्षेत्रका जटिल विषयलाई प्राथमिकताका साथ भारत सरकारसमक्ष उठाउन बैठकले नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। कूटनीतिक पहलमार्फत सुस्ताका समस्याको स्थायी समाधान खोज्नसमेत आग्रह गरिएको छ।

बैठकले केन्द्रीय समिति बैठक सम्पन्न गर्न आतिथ्यता प्रदान गर्ने नेपाल प्रेस युनियन नवलपरासी शाखा तथा बैठक सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति र संस्थाप्रति धन्यवाद ज्ञापन गरेको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan