Sunday 29th of November | २०८३ मङ्सिर १३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई प्राथमिकता दिन्छौँ : सभामुख अर्याल

न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १३ आइतबार | (रासस)

चितवन, १३ मङ्सिर : सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रका समस्या, आवश्यकता र सुझावलाई सम्बोधन गर्ने गरी समयसापेक्ष, प्रविधिमैत्री र भूगोलअनुकूल कानुन निर्माण गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।

    चितवन उद्योग सङ्घमा आज आयोजित उद्योग व्यवसायका समसामयिक विषयमा भएको छलफलमा उहाँले आफ्नो क्षेत्रबाट गर्न सक्ने महत्वपूर्ण काम उत्कृष्ट र समृद्ध कानुन निर्माण भएको बताउनुभयो ।

    उहाँले निजी क्षेत्र, व्यापारी, व्यवसायी तथा उपभोक्ताको हितलाई ध्यानमा राखेर कानुन निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । ज्ञापनपत्र बुझाउने र छलफल गर्ने क्रम जारी रहे पनि त्यसबाट प्राप्त उपलब्धिको समीक्षा हुन नसकेको उहाँको भनाइ थियो ।

    सभामुख अर्यालले प्रतिनिधिसभाअन्तर्गतका १० वटा संसदीय समितिलाई ‘मिनी संसद्’को संज्ञा दिँदै निजी क्षेत्रका समस्या सम्बन्धित समितिमा लिखित रूपमा प्रस्तुत गरी छलफल गर्न सुझाव दिनुभयो । ती समितिमा सरकार, प्रतिपक्ष, कर्मचारी र कानुन मन्त्रालयका प्रतिनिधिसमेत सहभागी हुने भएकाले समस्या समाधानका लागि समितिमार्फत पहल गर्नु प्रभावकारी हुने उहाँले बताउनुभयो ।

    चालु आर्थिक वर्षमा १६६ वटा नयाँ कानुन निर्माण तथा संशोधन गर्ने तयारी रहेको उल्लेख गर्दै उहाँले एउटा मात्र कानुन संशोधन गरेर मुलुकको समृद्धि र व्यवसायीको हित सुनिश्चित नहुने बताउनुभयो । प्रधानमन्त्री, मन्त्री तथा अन्य उच्च पदाधिकारीलाई ज्ञापनपत्र बुझाउनुभन्दा सम्बन्धित संसदीय समितिमा विषयवस्तु प्रस्तुत गरेर नीतिगत सुधारका लागि पहल गर्न उहाँले आग्रह गर्नुभयो ।

    सभामुख अर्यालले राज्यबाट प्राप्त बजेटको सदुपयोग गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो । बजेट समयमै र गुणस्तरीय ढङ्गले खर्च गरी त्यसको परिणाम देखाउनुपर्ने उहाँको भनाइ थियो ।

    उहाँले निक्षेपकर्तालाई एक प्रतिशत र लगानीकर्तालाई तीन प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने वातावरण निर्माण हुनुपर्ने धारणा राख्नुभयो । उच्च ब्याजदरका कारण उत्पादनशील क्षेत्रमा लगानी निरुत्साहित हुने उल्लेख गर्दै उहाँले सस्तो ब्याजदरमा कर्जा उपलब्ध भए व्यवसाय विस्तार र लगानी प्रवर्द्धनमा सहयोग पुग्ने बताउनुभयो ।

    राज्य हरेक नागरिकको साझा भएको उल्लेख गर्दै सभामुख अर्यालले प्रत्येक नागरिकले राज्य आफ्नो लागि पनि रहेको अनुभूति गर्न पाउनुपर्ने बताउनुभयो । नागरिकको अभिव्यक्ति स्वतन्त्रता र अधिकारको संरक्षण गर्दै सबै नागरिकका लागि अनुकूल, भूगोल सुहाउँदो र नयाँ पुस्ताको आवश्यकताअनुसार प्रविधिमैत्री कानुन निर्माण गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

    सभामुख अर्यालले जनताको स्थिर सरकारप्रतिको अपेक्षालाई अवसरका रूपमा लिनुपर्ने उल्लेख गर्दै उद्योगी तथा व्यवसायीलाई निराश नभई लगानी गर्न आग्रह गर्नुभयो । अनुकूल ब्याजदर र लगानीको वातावरणको सदुपयोग गर्दै उद्योग, व्यवसाय र रोजगारी विस्तार गर्नुपर्ने उहाँको भनाइ थियो ।

    कार्यक्रममा विभिन्न उद्योगी व्यवसायीहरुले आफ्ना समस्या राख्नुभएको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan