‘सञ्चारगृहमा अवरोध लोकतान्त्रिक मूल्यविपरीत’ मनिष झाको टिप्पणी, घटनाको अनुसन्धान र कारबाहीको माग
काठमाडौं, ३१ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनिष झाले सञ्चारगृह तथा अन्य स्थानमा गाडी राखेर अवरोध सिर्जना गरिएको घटनाप्रति आपत्ति जनाउँदै संलग्न व्यक्तिमाथि निष्पक्ष अनुसन्धान र कानुनी कारबाही गर्न माग गरेका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै झाले राज्यको दायित्व नागरिकका समस्या र चिन्ताको समाधान गर्नु भएको उल्लेख गरेका छन्।
“सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो। यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ। राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो। राज्यले आफैं थप आतङ्कित बनाउने हैन,” उनले लेखेका छन्।
उनले यस्ता गतिविधिले लोकतान्त्रिक शासन प्रणालीमाथि नै प्रश्न उठ्ने टिप्पणी गर्दै “यस्तो बचपना देखाएर राजकाज चल्छ?
के यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेनजी सहादत भएको हो?” भन्ने प्रश्न पनि गरेका छन्।
झाले अन्त्यमा यस प्रकारका गतिविधिप्रति आफूले “घोर आपत्ति” रहेको उल्लेख गर्दै राज्य संयमित, उत्तरदायी र कानुनसम्मत ढंगले अघि बढ्नुपर्ने बताएका छन्।

