Monday 3rd of August | २०८३ श्रावण १८ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बौद्ध आस्थासँगै थाइल्यान्डमा बढ्दै मदिरामुक्त जीवनको अभियान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १८ सोमबार | (रासस-एएफपी)

सामुत साखोन, १८ साउन : हात जोडेर र शिर निहुराउँदै वासाना नाक–उम्माले तीन महिनासम्म मदिरा सेवन नगर्ने सङ्कल्प गर्नुभयो । सार्वजनिक स्वास्थ्य र आध्यात्मिकतालाई जोड्ने मदिरा त्याग अभियानमा सहभागी हुने लाखौँ थाई नागरिकमध्ये उहाँ पनि एक हुनुहुन्छ । 

बैङ्ककको पश्चिममा रहेको सामुत साखोनस्थित एक बौद्ध मन्दिरमा सङ्कल्प गर्नुभएकी ४२ वर्षीया वासानाले आफू विगतमा अत्यधिक मदिरा सेवन गर्ने गरेको बताउनुभयो ।

“म यति धेरै मदिराले मात्थेँ कि मेरा छोराछोरीले मेरो हेरचाह गर्नुपथ्र्यो”, वासनाले एएफपीसँग भन्नुभयो ।

एक आफन्तको आग्रहमा उहाँ ‘खाओ फान्सा’को अवसरमा मदिरा त्याग अभियानमा सहभागी हुनुभएको हो । यो बौद्ध धर्मावलम्बीहरूको तीन महिने आत्मचिन्तन र अनुशासनको अवधि हो, जसलाई क्रिस्चियन धर्मको ‘लेन्ट’ पर्वसँग तुलना गरिन्छ ।

“सुरुमा मलाई अझै मदिरा पिउने इच्छा हुन्थ्यो । पसलमा रक्सी वा बियर किनेका मानिस देख्दा मलाई पनि पिउन मन लाग्थ्यो”,उहाँले भन्नुभयो, “तर मैले आफैँलाई सम्झाएँ—यो केबल तीन महिनाको कुरा हो ।”

सन् २०२४ मा पहिलो पटक तीन महिना मदिरा त्याग्नुभएकी वासानाले त्यसपछि पुनः मदिरा सेवन सुरु गरे पनि मात्रा घटाउनुभयो । यस वर्ष उहाँ लगातार तेस्रो पटक मदिरा त्यागको सङ्कल्प गर्न सामुत साखोनमा आयोजित कार्यक्रममा सहभागी हुनुभएको हो ।

बौद्ध धर्ममा मदिरा तथा अन्य मादक पदार्थबाट टाढा रहनुलाई महत्वपूर्ण अनुशासनका रूपमा लिइन्छ । तर विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) को २०२४ को तथ्याङ्कअनुसार, ९० प्रतिशतभन्दा बढी जनसङ्ख्या बौद्ध धर्मावलम्बी रहेको थाइल्यान्ड एसियामा प्रतिव्यक्ति मदिरा सेवनको दर उच्च भएका मुलुकमध्ये एक हो ।

यही अवस्थालाई सम्बोधन गर्न सन् २००३ मा ‘बौद्ध लेन्ट’ अभियान सुरु गरिएको थियो ।गत वर्ष यस अभियानमा ८० लाखभन्दा बढी मानिस सहभागी भएको आयोजकहरूले बताएका छन् ।

आध्यात्मिक प्रेरणा
यस वर्ष ‘खाओ फान्सा’ सामुत साखोनको ग्रामीण क्षेत्रमा धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित मनाइएको थियो । कार्यक्रममा भिक्षुलाई दान दिने, परम्परागत नृत्य प्रस्तुत गर्ने र मदिरा त्यागको प्रतिज्ञा गर्ने कार्यक्रम आयोजना गरिएको थियो ।
    
दर्जनौँ मानिसले स्थानीय ‘सालेङ’ (साइडकार जडित स्कुटर) मा ¥याली निकाल्दै स्वस्थ जीवनशैली प्रवद्र्धन गरेका थिए ।

६६ वर्षीय फायोम रक्षाले छ वर्षअघि अभियानमा सहभागी भएपछि मदिरा पूर्ण रूपमा त्यागेको बताउनुभयो ।

“मेरा छोराछोरी मप्रति लज्जित हुन्थे, किनकि म दैनिक मातेर हिँड्थेँ र उनीहरूको वास्ता गर्दैनथेँ”, उहाँले भन्नुभयो । फायोमले विगतमा आफ्नो अधिकांश पैसा मदिरामै खर्च हुने गरेको बताउनुभयो ।

उहाँले अहिले अरूलाई पनि मदिरा त्यागका लागि प्रयास गर्न आग्रह गर्दै भन्नुभयो, “सबैले मैले जस्तै प्रयास गरून् र सकारात्मक परिवर्तनतर्फ अघि बढून् भन्ने मेरो चाहना हो ।”

स्वास्थ्यसँग जोडिएको अभियान
विश्वका विभिन्न देशमा स्वास्थ्य सुधारका लागि मदिरा सेवन घटाउने वा त्याग्ने अभियान बढ्दै गएका छन् । थाइल्यान्डको ‘बौद्ध लेन्ट’ अभियानले भने धार्मिक तथा आध्यात्मिक आधारमार्फत मानिसलाई प्रेरित गर्ने गरेको अभियानका क्षेत्रीय स्वयंसेवक उबोलवान कोङ्गसावाङले बताउनुभयो ।

“जब मानिसहरूले बुद्धको प्रतिमासामु, मन्दिरमा वा समुदायमा प्रतिज्ञा गर्छन्, उनीहरू आफ्नो वचन पूरा गर्न थप प्रतिबद्ध हुन्छन्”, उहाँले भन्नुभयो ।

अभियानका आयोजकहरूले यस वर्ष मदिरा पूर्ण रूपमा त्याग्नुभन्दा पनि सेवन घटाउँदा हुने स्वास्थ्य लाभ, पारिवारिक सम्बन्धमा सुधार र आर्थिक बचतबारे जनचेतना फैलाउने रणनीति अपनाएका छन् ।

सरकारी निकाय थाई स्वास्थ्य प्रवद्र्धन फाउन्डेसनका निर्देशक डा पोङथेप वोङवाचरापाइबुनले भन्नुभयो, “हाम्रो लक्ष्य सबैले पूर्ण रूपमा मदिरा त्याग्नुपर्छ भन्ने होइन । धेरै मानिसले सेवन घटाउँछन् र त्यसबाट हुने स्वास्थ्य लाभ अनुभव गर्छन्, जुन आफैँमा सफलता हो ।”

‘स्टप ड्रिङ्किङ नेटवर्क’ की प्रमुख तीरा वाचराप्रानीले अभियानको उद्देश्य व्यक्तिगत रूपमा मदिरा सेवन घटाउनु मात्र नभई समाजमा रहेको मदिरा सेवनको संस्कृतिमा परिवर्तन ल्याउनु रहेको बताउनुभयो ।

“हामी पिउने संस्कृतिलाई परिवर्तन गर्न खोजिरहेका छौँ, केबल व्यक्तिगत सेवन घटाउन होइन”, उहाँले भन्नुभयो, “हाम्रो प्रयास बौद्ध लेन्टको अवधिभन्दा बाहिर पनि जारी रहनेछ, ताकि समुदायहरूले दैनिक जीवनमा मदिरा कम गर्न सकून् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan