इजरायलका लागि जासुसी गरेको आरोपमा इरानमा दुई जनालाई मृत्युदण्ड
तेहरान, १८ साउन : इरानले इजरायलका लागि जासुसी गरेको आरोपमा दोषी ठहरिएका दुई जनालाई सोमबार मृत्युदण्ड दिएको न्यायपालिकाले जनाएको छ । जासुसीको आरोपमा इरानमा पछिल्लो समय मृत्युदण्डका घटना बढिरहेका छन् ।
इरानको न्यायपालिकासम्बन्धी सञ्चारमाध्यम ‘मिजान’का अनुसार, ओमिद बेहजाद र पौरिया सफ्वतलाई इजरायली गुप्तचर निकाय ‘मोसाद’का एजेन्टलाई संवेदनशील सैन्य तथा सुरक्षा स्थलहरूको विवरण उपलब्ध गराएको आरोपमा फाँसी दिइएको हो ।
उनीहरूलाई ‘जासुसी र जियोनिस्ट शासनसँग सहकार्य’ गरेको अभियोगमा दोषी ठहर गरिएको मिजानले जनाएको छ । तर उनीहरूलाई कहिले पक्राउ गरिएको थियो र मुद्दाको प्रक्रिया कहिले सुरु भयो भन्ने विवरण सार्वजनिक गरिएको छैन ।
मिजानका अनुसार, ती दुई व्यक्तिले युद्धका क्रममा सैन्य तथा सुरक्षा केन्द्रसम्बन्धी सूचना उपलब्ध गराएर विदेशी गुप्तचर निकायलाई सहयोग गरेका थिए ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलको आक्रमणपछि इरानका सर्वोच्च नेताको मृत्यु भएको र त्यसपछि सुरु भएको द्वन्द्वयता इरानमा मृत्युदण्डका घटना बढेका छन् । तेहरानले यस अवधिमा इजरायलका लागि जासुसी गरेको आरोपमा थुप्रै व्यक्तिलाई कारबाही गरेको जनाएको छ ।
अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलका अनुसार, चीनपछि इरान विश्वमा सबैभन्दा धेरै मृत्युदण्ड दिने देशमध्ये एक हो ।
नर्वेस्थित गैरसरकारी संस्था ‘इरान ह्युमन राइट्स’ र पेरिसस्थित ‘टुगेदर अगेन्स्ट द डेथ पेनाल्टी’ (ईसीपीएम) का अनुसार, इरानी अधिकारीहरूले गत वर्ष कम्तीमा एक हजार ६३९ जनालाई मृत्युदण्ड दिएका थिए, जुन सन् १९८९ यताकै उच्च सङ्ख्या हो ।
एम्नेस्टी इन्टरनेसनलले इरानमा मृत्युदण्डको प्रयोग बढ्दै गएको भन्दै आलोचना गर्दै आएको छ । उसले सरकारविरोधी प्रदर्शनमा सहभागी भएको आरोपमा दोषी ठहर गरिएका दुई व्यक्तिलाई मृत्युदण्ड दिइएको घटनाको पनि निन्दा गरेको थियो ।
