पूर्वकुस्ती प्रमुखलाई सफाइ
नयाँदिल्ली, १८ साउन : भारतको एक अदालतले भारतीय कुस्ती महासङ्घ (डब्लुएफआई) का पूर्वअध्यक्ष तथा भारतीय जनता पार्टी (भाजपा) का पूर्व सांसद बृजभूषण शरण सिंहलाई महिला पहलवानहरूले लगाएको यौन उत्पीडन र पछ्याएको आरोपबाट सोमबार सफाइ दिएको छ ।
सन् २०२३ मा देशव्यापी चर्चामा आएको यस मुद्दाले भारतीय खेलकुद क्षेत्रमा ठूलो विवाद सिर्जना गरेको थियो ।
६९ वर्षीय सिंहमाथि विश्व च्याम्पियन विनेश फोगाट, ओलम्पिक कांस्य पदक विजेता साक्षी मलिकलगायत महिला पहलवानहरूले यौन उत्पीडन गरेको तथा यौन सम्बन्धका लागि दबाब दिएको आरोप लगाएका थिए ।
आरोपपछि उनीहरूकै नेतृत्वमा नयाँदिल्लीमा हप्तौँसम्म आन्दोलन भएको थियो । प्रदर्शनकारी खेलाडीहरूले सिंहलाई भारतीय कुस्ती महासङ्घको नेतृत्वबाट हटाउन माग गरेका थिए ।
सिंहका कानून व्यवसायी राजीव मोहनले अदालतले उहाँलाई ‘सम्मानपूर्वक मुक्त’ गरेको जानकारी दिनुभयो । उहाँका अनुसार अदालतले साक्षी मलिकको बयानमा विसङ्गति तथा मुख्य विषयमा विरोधाभास भेटिएपछि यस्तो फैसला गरेको हो ।
फैसलापछि सिंहका समर्थकहरूले अदालत बाहिर नाराबाजी गर्दै पटाका पड्काएका थिए भने उहाँमाथि फूल वर्षाएर स्वागत गरेका थिए । सिंहले आफू सुरुदेखि नै निर्दोष रहेको दाबी गर्दै दोषी ठहरिए सजाय भोग्न तयार रहेको बताउनुभएको थियो । अब अदालतबाट सम्मानपूर्वक सफाइ पाएको उहाँको प्रतिक्रिया थियो ।
स्थानीय सञ्चारमाध्यमका अनुसार सरकारी पक्षले अदालतको पूर्ण फैसला अध्ययन गरी आवश्यक परे उच्च अदालतमा जानेबारे निर्णय गर्ने जनाएको छ ।
दिल्ली प्रहरीले सन् २०२३ मा लामो समयसम्म चलेको खेलाडीहरूको आन्दोलन र बढ्दो सार्वजनिक दबाबपछि सिंहविरुद्ध यौन उत्पीडन तथा पछ्याउने अभियोग दर्ता गरेको थियो । त्यसबेला आन्दोलनरत खेलाडीहरूले आफ्नो उजुरीमाथि कारबाही गर्न अधिकारीहरू अनिच्छुक रहेको आरोप लगाएका थिए ।
उत्तरी भारतका ग्रामीण क्षेत्रमा कुस्ती अत्यन्त लोकप्रिय खेल मानिन्छ । आन्दोलनका क्रममा विनेश फोगाटसहितका खेलाडीहरू संसद्तर्फ मार्च गर्ने प्रयास गर्दा प्रहरीले नियन्त्रणमा लिएको दृश्य सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएको थियो ।
