त्रिशूलीमा बहाव बढेपछि कृष्णभीरमा पहिरो, पृथ्वीराजमार्ग अवरुद्ध,विभिन्न जिल्लाकामा यातायात प्रभावित
काठमाडौँ, १४ भदौः
त्रिशूलीमा बहाव बढेपछि कृष्णभीरमा पहिरो, पृथ्वीराजमार्ग अवरुद्ध धादिङ । त्रिशूली नदीमा पानीको बहाव बढेसँगै पृथ्वीराजमार्गअन्तर्गत धादिङको कृष्णभीर क्षेत्रमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। पहिरो खसेपछि काठमाडौं–चितवनतर्फ तथा चितवन–काठमाडौं आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन्।
सडकमा ठूलो पहिरो खसेकाले तत्कालै यातायात सञ्चालनमा समस्या भएको जनाइएको छ। पहिरो पन्छाउन सडक विभाग तथा स्थानीय निकायसँगको समन्वयमा डोजर तथा आवश्यक उपकरण परिचालन गर्ने तयारी भइरहेको छ।
सडक खुलाउने काम सुरु भएपछि मात्रै सवारी आवागमन सहज हुने बताइएको छ। यसैबीच, त्रिशूली नदीमा पानीको बहाव बढिरहेकाले नदी आसपास तथा सडक किनारका बस्तीमा समेत थप सतर्कता अपनाउन आग्रह गरिएको छ। पछिल्ला दिनमा बाढी र पहिरोका कारण पृथ्वीराजमार्गका विभिन्न खण्ड पटक–पटक अवरुद्ध हुँदै आएका छन्।
बाढीपहिरोका कारण रसुवासहित विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ ।
सडक विभागका अनुसार इलाम, काभ्रेपलाञ्चोक, मकवानपुर, रसुवा र नुवाकोटका विभिन्न सडक अवरुद्ध छन् ।
नुवाकोटको शिवपुरी गाउँपालिका–५ घडेरीखोला क्षेत्रमा टोखा–छहरे सडकखण्ड पहिरोका कारण प्रभावित छ भने मकवानपुरको हेटौँडा–टिङ्गन–बागमती–ललितपुर सडकखण्डमा सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
लगातारको वर्षा, बाढी तथा पहिरोका कारण सडकमा जुनसुकै बेला अवरोध हुनसक्ने भएकाले यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन र जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।
*यात्रु तथा सवारी चालकलाई सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न र जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नरोकिन आग्रह गरिएको छ।*
