Monday 31st of August | २०८३ भदौ १५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भोटेकोशी बाढीः पर्यटकको अवस्थाबारे जानकारी दिन ‘सूचना डेस्क’ स्थापना गरिने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १५ सोमबार |

काठमाडौँ, १४ भदौः रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर बेपत्ता भएका तथा उद्धार गरिएका पर्यटकको बारेमा जानकारी दिन ‘सूचना डेस्क’ स्थापना गरिने भएको छ ।

पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र पर्यटन व्यवसायी सङ्घसंस्थाबीच आज भएको बैठकले बाढीमा बेपत्ता भएका पर्यटकको खोजी तथा उद्धारकार्यलाई तीव्र बनाइ आवश्यक जानकारी दिन ‘सूचना डेस्क’ स्थापना गर्ने निर्णय गरेको हो ।

बैठकले बेपत्ता पर्यटकको खोजीका लागि समन्वय बढाउने र एकीकृत सूचना प्रणाली लागू गर्ने निर्णय गरेको विभागका महानिर्देशक रामकृष्ण लामिछानेले बताउनुभयो । 

बैठकले बोर्ड, विभाग, पर्यटक प्रहरी र पर्यटन क्षेत्रका छाता सङ्गठनको प्रतिनिधित्व रहनेगरी एक ‘सूचना डेस्क’ स्थापना गर्ने निर्णय गरेको छ । उक्त डेस्कले उद्धार गरिएका, बेपत्ता भएका र समग्र स्थितिको नियमित जानकारी दिने महानिर्देशक लामिछानेले बताउनुभयो ।

यस्तै, बैठकले पर्यटन व्यवसायी तथा ट्राभल कम्पनीले आफ्ना सम्पर्क व्यक्ति (फोकल पर्सन)मार्फत बेपत्ता पर्यटकको आधिकारिक विवरण उपलब्ध गराउनुपर्ने र सम्बन्धित दूतावाससँग समन्वय गर्न आग्रह गरेको छ । बेपत्ता पर्यटकका परिवारलाई सम्बन्धित कम्पनीमार्फत समयमै र सही जानकारी उपलब्ध गराउने सुनिश्चितता गरिनेछ । 

यसैगरी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गत पर्यटकको मात्र विवरण (उद्धार गरिएका, बेपत्ता वा मृतक) हेर्नेगरी छुट्टै एकाइ स्थापना गर्न मन्त्रालयमार्फत अनुरोध गर्ने, बाढीका कारण पर्यटन पूर्वाधारमा पुगेको क्षतिको विवरण सङ्कलन गरी बुझाउन व्यवसायीलाई आग्रह गरिएको छ ।

आजसम्म २८९ पर्यटकको उद्धार, ५९१ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीमा परेर हराएका विभिन्न देशका पर्यटकमध्ये २८९ को उद्धार गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । 

बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएर हराएका मध्ये २८९ विदेशी पर्यटकको उद्धार गरिएको राससलाई जानकारी दिनुभयो ।

उद्धार गरिएका पर्यटकमध्ये सबैभन्दा धेरै भारतका रहेका छन् । हालसम्म भारतका १८०, चीनका ८९, माल्टा चार, जर्मन चार, इटाली, रसिया, टर्की र अमेरिकाका दुई–दुई, बुल्गेरिया,ओमन, पोर्चुगल र स्वीजरल्यान्ड एक–एक, पर्यटकको उद्धार गरिएको हो ।

यस्तै, विभिन्न देशका ५९१ पर्यटक अझै सम्पर्कविहीन छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र अन्य पर्यटन सरोकारवालाले प्रभावित क्षेत्रमा रहेका पर्यटकको खोजी र उद्धारकार्यलाई तीव्र पारेका छन् । घाइते र अलपत्र परेकालाई सुरक्षित स्थानमा ल्याउन आवश्यक सबै प्रयास भइरहेको बोर्डले जनाएको छ ।

यस्तै, बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा नदीले सडक कटान गरेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएकाले पर्यटकलाई यात्रा गर्दा सडक र मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न बोर्डले आग्रह गरेको छ ।

बोर्डले ‘पर्यटकको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो’ भन्दै सबैलाई धैर्य र सतर्क रहन आह्वान गरेको छ । बोर्डले कुनै पनि जानकारी वा सहयोगका लागि टोल फ्री नम्बर १२३४, हटलाइन नम्बर ११४४ र पर्यटन प्रहरी ९८५१२८९४४५ मा सम्पर्क गर्न आग्रह गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan