Monday 31st of August | २०८३ भदौ १५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चीनद्वारा २० लाख अमेरिकी डलर सहयोग

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १४ आइतबार | (रासस)

काठमाडौँ, १४ भदौः छिमेकी मुलुक चीनले भोटेकोशी बाढी प्रभावित क्षेत्रका लागि नेपाल सरकारलाई २० लाख अमेरिकी डलरको आकस्मिक बाढी राहत सहायता प्रदान गरेको छ ।

नेपालका लागि चीनका राजदूत झाङ माओमिङले आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग भेट गरी चिनियाँ सरकारद्वारा नेपाल सरकारलाई प्रदान गरिएको उक्त राहत सहायता हस्तान्तरण गर्नुभएको यहाँस्थित चिनियाँ दूतावासले जनाएको छ । उहाँले आजै चिनियाँ रेडक्रस सोसाइटीद्वारा नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्रदान गरिएको दुई लाख अमेरिकी डलर समेत हस्तान्तरण गर्नुभयो । राजदूत माओमिङले नेपाल र चीनका लागि अहिलेको प्रमुख कार्य पहिरो विपत्तिको सामना गर्नु रहेको बताउनुभयो ।

नगद सहायता प्रदान गर्नुका साथै चीनले चिनियाँ सुरुङ उद्धार टोलीमार्फत विपद् प्रभावित क्षेत्रमा निरन्तर सहयोग गरिरहेको र राहत सामग्रीको पहिलो खेप पनि नेपाल आइपुगेको राजदूत माओमिङले बताउनुभयो । चिनियाँ पक्षले नेपाललाई विपद् प्रभावित क्षेत्रका तस्बिर, जलविज्ञान तथा मौसमसम्बन्धी सूचना र अन्य सहयोगसमेत उपलब्ध गराउँदै आएको छ ।

सो अवसरमा मन्त्री डा वाग्लेले चीनको सहयोगप्रति आभार व्यक्त गर्दै कठिन समयमा दुवै देशबीच देखिएको गहिरो मित्रताको उच्च प्रशंसा गर्नुभयो । उहाँले नेपालले प्राप्त सहयोगको पूर्ण सदुपयोग गर्ने, नेपालका विपद् प्रभावित क्षेत्रमा फसेका मानिसको उद्धारका लागि कुनै कसर बाँकी नराख्ने तथा विपद्पछिको योजना र पुनःनिर्माणमा द्विपक्षीय घनिष्ठ सहकार्यको अपेक्षा रहेको बताउनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan