गोरखा ११ लाई एनआरएनए टी–१० क्रिकेटको उपाधि
लिस्बन, २ असोजः पोर्चुगलमा सम्पन्न युरोपस्तरीय ‘एनआरएनए टी–१० क्रिकेट प्रतियोगिता–२०२६’को उपाधि गोरखा ११ क्रिकेट क्लब पोर्चुगलले जितेको छ ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलको आयोजनामा सान्तारेमस्थित क्रिकेट मैदानमा बिहीबार भएको फाइनलमा गोरखा ११ ले जिजिरा युनाइटेड क्रिकेट क्लब माल्टालाई पराजित गर्दै उपाधि जितेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको जिजिरा युनाइटेडले निर्धारित १० ओभरमा छ विकेट गुमाएर ९२ रन बनाएको थियो । ९३ रनको लक्ष्य पछ्याएको गोरखा ११ ले ८.३ ओभरमा लक्ष्य पूरा गरेको हो ।
उपाधिसँगै गोरखा ११ ले पाँच हजार ५५५ युरो नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता जिजिराले दुई हजार ५५५ युरो नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । एनएससीए जर्मनी तेस्रो भएको छ ।
जिजिरा माल्टाका मेहबुब अली प्रतियोगिताको उत्कृष्ट खेलाडी तथा सोही टोलीका सुरज दरैमगर उत्कृष्ट ब्याट्सम्यान घोषित हुनुभयो । एनआरएनए जर्मनीका आशिष निरौला उत्कृष्ट बलर घोषित हुनुभयो ।
