प्रहरी सहायक निरीक्षक तथा प्रहरी कार्यालय सहयोगी पदमा नयाँ भर्नाका लागि दरखास्त आव्हान
काठमाडौं, २ असोज : नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी सहायक निरीक्षक र प्रहरी कार्यालय सहयोगी पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ ।
प्रहरी सहायक निरीक्षक पदका लागि २ सय ११ जना र प्रहरी कार्यालय सहयोगी पदका लागि भान्छेतर्फ ८३ जना, हजामतर्फ १५ जना र कुचीकारतर्फ २५ जना गरी जम्मा १ सय २३ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको हो ।
प्रहरी सहायक निरीक्षक पदमा दरखास्त दिने उम्मेदवारहरूले नेपाल प्रहरीको Online Recruitment Management System (ORMS) मार्फत अनलाइन दरखास्त दिनुपर्ने छ ।
अनलाइनबाट दरखास्त दिन नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np को Career भित्र Online Application वा https://careers.nepalpolice.gov.np मा गई दरखास्त फारम भर्न सकिनेछ ।
यसैगरी प्रहरी कार्यालय सहयोगी पदका लागि जिल्ला प्रहरी परिसरहरू काठमाडौं, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरू विराटनगर, जनकपुर (हाल राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज बाँके) र दिपायल तथा सबै जिल्ला प्रहरी कार्यालयहरूमा दरखास्त फारम पाइने र बुझाउन सकिने छ ।
नयाँ भर्ना हुन इच्छुक नागरिकहरूले प्रहरी सहायक निरीक्षक र प्रहरी कार्यालय सहयोगी पदको लागि असोज १२ गतेदेखि कात्तिक १० गतेसम्म दरखास्त फारम भर्न सक्नेछन् ।
दरखास्त आव्हान सम्बन्धी विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ ।
