Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

क्षेप्यास्त्र प्रविधिमा एआईको प्रयोग, उत्तर कोरियाद्वारा परीक्षण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १८ आइतबार | (रासस-एएफपी)

प्योङयाङ, १८ असोज : उत्तर कोरियाका नेता किम जोङ उनले आफ्नी छोरी किम जु एसँगै शनिबार गरिएको क्षेप्यास्त्र परीक्षणको निरीक्षण गर्नुभएको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले आइतबार जनाएको छ ।

सरकारी सञ्चारमाध्यमका अनुसार परीक्षण गरिएको क्षेप्यास्त्रमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग गरिएको थियो । उक्त प्रविधिले क्षेप्यास्त्रलाई कम उचाइमा उडिरहेका बेला आफ्नो उडान मार्ग परिवर्तन गर्न सहयोग गर्ने दाबी गरिएको छ ।

दक्षिण कोरियाली सेनाका अनुसार पूर्वी तटीय सहर वोन्साननजिकको क्षेत्रबाट शनिबार बिहान प्रक्षेपण गरिएको क्षेप्यास्त्रले ७ सय किलोमिटरभन्दा बढी दूरी तय गरेको थियो । सेनाले परीक्षणसम्बन्धी थप विवरण भने सार्वजनिक गरेको छैन ।

परीक्षणको निरीक्षणपछि किमले रणनीतिक क्षेप्यास्त्र सञ्चालन गर्ने सैनिकहरूले आफ्नो क्षमता र प्रतिकारात्मक तयारी प्रदर्शन गरेको बताउनुभएको सरकारी सञ्चारमाध्यमले जनाएको छ । उहाँले देशको रणनीतिक सैन्य क्षमताको विश्वसनीयता कायम राख्न निरन्तर प्रयास गर्नुपर्नेमा जोड दिनुभएको बताइएको छ ।

उत्तर कोरियाले उक्त परीक्षण सैनिकहरूलाई अतिध्वनिक रणनीतिक हतियार प्रणाली सञ्चालनसम्बन्धी प्रशिक्षण प्रदान गर्ने उद्देश्यले गरिएको जनाएको छ ।

सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरमा किम क्षेप्यास्त्र प्रक्षेपणको निरीक्षण गरिरहेको देखिन्छ । अर्को तस्बिरमा उहाँ आफ्नी छोरी र पत्नी रि सोल जुका साथ देखिनुभएको छ ।

किमकी छोरी जु ए सन् २०२२ मा पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिनुभएको थियो । दक्षिण कोरियाली गुप्तचर निकायले पछिल्ला वर्षमा उहाँको सार्वजनिक तथा सैन्य कार्यक्रममा बढ्दो उपस्थितिका आधारमा सम्भावित उत्तराधिकारीका रूपमा उल्लेख गर्दै आएको छ ।

यो परीक्षण दक्षिण कोरियाली सेनाले सीमावर्ती क्षेत्रमा भएको विस्फोटमा तीन सैनिक घाइते भएपछि उत्तर कोरियासँग घटनाबारे स्पष्टीकरण मागेको केही दिनपछि भएको हो । उत्तर कोरियाले भने उक्त विस्फोटमा आफ्नो संलग्नता नरहेको बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan