Monday 5th of October | २०८३ असोज १९ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हुथीविरुद्ध निर्णायक सैन्य अभियान सञ्चालन गर्ने यमन सरकारको घोषणा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १९ सोमबार | (रासस-एपी)

यमन,१९ असोज : यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारले हुथी विद्रोहीविरुद्ध ठूलो सैन्य कारबाही सञ्चालन गर्ने घोषणा गरेको छ। हुथी विद्रोहीहरूले दक्षिणपश्चिमी यमनको महत्वपूर्ण सहर ताइजको बाहिरी क्षेत्रमा आफ्नो नियन्त्रण विस्तार गरिरहेका बेला सरकारले यस्तो घोषणा गरेको हो।

राष्ट्रपति नेतृत्व परिषद्का प्रमुख रशद अल–अलिमीले साउदी अरबबाट सम्बोधन गर्दै हुथीहरूको नियन्त्रणमा रहेका बाँकी भूभाग फिर्ता लिन सैन्य अभियान सञ्चालन गरिने जानकारी दिनुभएको छ। उहाँले अन्तर्राष्ट्रिय समुदायसँग यमन सरकारलाई आवश्यक सहयोग उपलब्ध गराउनसमेत आग्रह गर्नुभएको छ।

गत महिना हुथी विद्रोहीहरूले पछिल्ला केही वर्षयताकै ठूलो भूभाग आफ्नो नियन्त्रणमा लिएका थिए। उनीहरूले लाल सागरको तटीय क्षेत्र तथा बाब अल–मन्देब जलडमरूमध्य आसपासका क्षेत्रमा समेत आफ्नो प्रभाव विस्तार गरेका छन्।

यसैबीच, हुथी विद्रोहीहरूले ताइज आसपास सरकारी सेना तथा उसका सहयोगीविरुद्ध पछिल्ला दिनहरूमा ठूलो आक्रमण गरेका छन्। उक्त आक्रमणका कारण ताइजलाई यमन सरकारको मुख्यालय रहेको अदेन बन्दरगाह सहरसँग जोड्ने प्रमुख सडकसमेत प्रभावित भएको छ।

यमनको राजधानी सानामा राति हवाई हमला भएको हुथी विद्रोहीहरूले बताएका छन्। यमनको साउदी समर्थित सेनाले भने साना तथा साउदी सीमासँग जोडिएको उत्तरी सादा प्रान्तमा महत्वपूर्ण लक्ष्यहरूलाई लक्षित गरी हमला गरिएको जनाएको छ।

साउदी अरब र हुथी विद्रोहीबीच बढ्दो तनावका कारण चार वर्षसम्म कायम रहेको युद्धविरामपछि यमनको गृहयुद्ध पुनः चर्किएको अवस्था देखिएको छ।

यसैबीच, इरान–अमेरिका प्रत्यक्ष वार्तामा प्रमुख वार्ताकार रहनुभएका इरानी संसद्का सभामुखले अमेरिकाले मध्यस्थमार्फत नयाँ प्रस्ताव पठाएको जानकारी दिनुभएको छ। उक्त प्रस्तावको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

यमननजिकै बाब अल–मन्देब जलडमरूमध्य क्षेत्रमा एउटा व्यावसायिक ट्यांकरले विस्फोटको घटना रिपोर्ट गरेको समुद्री सुरक्षा अनुगमनकर्ताले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan