भोटेकोशी बाढी प्रभावितका लागि ‘समुन्नति कार्यक्रम’, रेडक्रससँग मन्त्रालयको समझदारी
काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित लक्षित परिवार तथा व्यक्तिलाई सहयोग उपलब्ध गराउने उद्देश्यले ‘समुन्नति कार्यक्रम’ सञ्चालन गर्न महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालय र नेपाल रेडक्रस सोसाइटीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
समझदारीपत्रमा मन्त्रालयका कार्यवाहक सचिव चक्रबहादुर बुढा र नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशाल भण्डारीले आज हस्ताक्षर गर्नुभएको हो।
कार्यक्रममार्फत बाढीबाट प्रभावित महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा अन्य जोखिममा रहेका व्यक्तिलाई प्राथमिकतामा राखेर सहयोग उपलब्ध गराइनेछ।
सम्बन्धित स्थानीय तह तथा अन्य निकायसँग समन्वय गरी वास्तविक लाभग्राही पहिचान गरिने र उनीहरूको आवश्यकता तथा अवस्थाका आधारमा सुरक्षित, पारदर्शी, मर्यादित र आवश्यकतामा आधारित सहयोग उपलब्ध गराइने मन्त्रालयले जनाएको छ।
कार्यक्रमले बाढीबाट प्रभावित परिवारको तत्कालीन आवश्यकता सम्बोधन गर्नुका साथै दीर्घकालीन पुनःस्थापना र आत्मनिर्भरतामा समेत जोड दिनेछ। त्यसका लागि जीविकोपार्जनका अवसर सिर्जना, सीप विकास, रोजगारी तथा उद्यमशीलता प्रवर्द्धनलगायतका कार्यक्रम सञ्चालन गरिनेछ।
भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनाका कार्यक्रमलाई थप प्रभावकारी बनाउन स्थानीय तह, सम्बन्धित सरकारी निकाय र नेपाल रेडक्रस सोसाइटीबीच समन्वय र सहकार्यलाई प्राथमिकता दिइने समझदारीमा उल्लेख छ।
‘समुन्नति कार्यक्रम’ले तत्कालीन राहतमा मात्र सीमित नभई प्रभावित परिवारलाई क्रमशः आत्मनिर्भर बनाउँदै दीर्घकालीन पुनःस्थापनाको आधार तयार गर्ने लक्ष्य राखेको छ।
