Wednesday 7th of October | २०८३ असोज २१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जनमत यति कमजोर किन भयो ? : महासचिव पोखरेल

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २१ बुधबार |
newsabhiyan

निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन कार्यदल बनेपछि एमालेमा नयाँ कोर्षको विकास हुने आम अपेक्षा थियो। तर पुनर्गठन होइन, पुनर्मिलनको प्रस्ताव अनुमोदन भयो । यसको अर्थ एमालेले परिवर्तन रोजेन, यथास्थिति रोज्यो ?
निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल फागुन २१ को निर्वाचनमा भएको अकल्पनीय पराजयपश्चात् पार्टी पङ्क्तिमा देखिएको निराशा र पलायन रोक्न तथा पार्टीमा नयाँ आशा जगाउन गठन गरिएको थियो। जनतासँग टुटेको सम्बन्ध स्थापित गर्ने उद्देश्यले कार्यदल गठन गरिएको थियो।

नेकपा एमाले जस्तो जनआधारित पार्टीको जनमत यति कमजोर किन भयो ? कार्यकर्ता र जनताबीचको गहिरो तथा भावनात्मक सम्बन्धमा केकस्ता कारणले समस्या उत्पन्न भयो ?

जनतासँगको सम्बन्ध कसरी पुनः स्थापित गर्न सकिन्छ र कार्यकर्ताको मनोबल कसरी उकास्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर कार्यदल गठन भएको थियो। कार्यदल गठनका समयमा पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा एकताबद्ध बनाउने उद्देश्य राखिएको थियो ।

पार्टीमा एकता स्थापित गर्नु पनि कार्यदलको एउटा महत्त्वपूर्ण उद्देश्य थियो । यथास्थितिमा पार्टीको पुनर्जागरण सम्भव छैन भन्ने मान्यताका आधारमा शुद्धीकरण, सुदृढीकरण र रूपान्तरण आवश्यक छ भन्ने निष्कर्षसहित पार्टी पुनर्गठनको कार्ययोजना तयार गर्ने गरी केन्द्रीय सचिवालयको आठौं बैठकले सर्वसहमतिमा कार्यदल गठन गरेको थियो । तर, कार्यदलले समग्र पुनर्गठनको कार्ययोजना तयार गर्नुअघि नै बहस र छलफल मुख्यतः नेतृत्वको प्रश्नमा केन्द्रित हुन पुग्यो।

जसका कारण कार्यदलले अपेक्षाअनुरूपको नतिजा दिन सक्ने स्थिति बनेन । तथापि, पार्टीमा सुधार र रूपान्तरणको आवश्यकता बोध गरेर कार्यदलले सर्वसम्मत रूपमा ४० बुँदे सङ्कल्प प्रस्ताव अघि सारेको छ । पार्टी केन्द्रीय कमिटीको तेस्रो बैठकले समेत त्यसलाई एक हदसम्म सम्बोधन गर्ने प्रयास गरेको छ । सम्बोधन हुन बाँकी विषय क्रमशः सम्बोधन हुने नै छ ।

केन्द्रीय कमिटी बैठकमा तपाईंले 'तीनवटा काम मबाट हुँदैन' भनेको क्लिप्स सार्वजनिक भयो, जुन व्यापक बनाउने प्रयत्न भएको देखिन्छ । अर्थात् तपाईं आफ्नै प्रतिवेदनका निष्कर्षहरूबाट पछि हट्नुभयो ?
हो, मैले सुरुदेखि नै पार्टी अध्यक्षलाई अहिलेको अवस्थामा मबाट तीनवटा काम हुन सक्दैनन् भनेर भनेको हुँ । तर, त्यस कुरालाई अध्यक्ष स्वयम्‌ले विश्वास गर्नुभएन र ममाथि अविश्वास तथा आशङ्का गरिरहनुभयो ।

पार्टीप्रति जनताको बुझाइ के छ र कार्यकर्ताको मनोविज्ञान कस्तो छ भन्ने कुरा अनौपचारिक रूपमा पार्टी अध्यक्षलाई जानकारी गराउने कर्तव्य मैले पूरा गरेको छु भन्ने लाग्दछ। पार्टी पङ्क्तिको बुझाइ र मनोविज्ञान कस्तो छ भन्ने कुरा निर्वाचन समीक्षा प्रतिवेदनमा पनि सुस्पष्ट रूपमा उल्लेख भएको छ ।

जहाँसम्म कार्यकर्ताका भावना र सुझावको कुरा छ, कार्यदलले तिनलाई जस्ताको तस्तै सूत्रबद्ध गरेको छ । त्यसका आधारमा ४० बुँदै सङ्कल्प तयार गरी सचिवालयलाई बुझाइएको छ ।

कार्यकर्ताका सुझावलाई भविष्यको पार्टी कामका सन्दर्भ सामग्रीका रूपमा ग्रहण गरिएको छ। तर कुनै पनि सुझाव कार्यान्वयन गर्न पार्टीका आफ्नै विधि, पद्धति र प्रक्रिया हुन्छन् भन्ने कुरा बुझ्नुपर्छ ।

सोहीअनुसार पार्टीमा सुधार र रूपान्तरणको काम अघि बढ्छ। हाम्रो पार्टी स्थापनाकालको समयजस्तो अवस्थामा आज छैन र आजकोअवस्था भोलिका दिनमा पनि रहने छैन ।जीवनको गतिशीलताजस्तै राजनीतिक पाटीको जीवनमा पनि समयानुकूल परिवर्तन हुँदै जान्छ र आवश्यक परिवर्तन ल्याउनुपर्छ ।

मैले केन्द्रीय कमिटीको बैठकमा बोल्दा त्यो विषयलाई सुस्पष्ट रूपमा चर्चा गरेको छु । कसले के विषयलाई महत्व दियो र के विषयमा चर्चा चलायो भन्ने कुरा सम्बन्धित व्यक्तिको कुरा हो। मेरो कुरा स्पष्ट छ, हाम्रो पार्टी कार्यकर्ता र जनताको भावनालाई सम्मान गर्दछ र आफ्नो उद्देश्यसँग त्यसलाई जोडेर अघि बढाउने काम गर्दछ र गर्दै आएको पनि छ ।

तपाईं र उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नामै लिएर पार्टी पङ्क्तिमा आत्मसमर्पणको चर्चा पनि भइरहेको छ नि ? त्यस्तै हो ? हो भने किन ?
पार्टीमा सुधार र रूपान्तरणको आवश्यकता महसुस गरेर कार्यदल गठन भएपछि त्यसमा छलफल र बहस हुनु स्वाभाविक विषय हो । पार्टी कमिटीले एउटा निष्कर्ष दिइसकेपछि त्यसलाई आत्मसमर्पण वा जित हारको विषयका रूपमा बुझ्नु हुँदैन ।

पार्टीमा सुधार आवश्यक छ भन्ने कुरा उपाध्यक्ष विष्णु पौडेल र मेरो व्यक्तिगत विषय पनि होइन । यो पार्टी पङ्क्तिको मनोविज्ञानसँग जोडिएको विषय हो। यो सचिवालयको बैठकले गरेको संस्थागत निर्णयसँग पनि जोडिएको विषय हो।

केन्द्रीय कमिटीको बैठकसम्म आइपुग्दा यो विषय उद्देश्य केन्द्रित हुन नसकेको र पार्टीमा विग्रह पैदा हुने हो कि भन्ने आशङ्का उत्पन्न भएपछि जिम्मेवार नेतृत्वको नाताले त्यसलाई स्पष्ट पार्ने काम भएको हो । त्यसमा न अध्यक्षको दबाबले काम गरेको हो, न कुनै व्यक्तिगत स्वार्थले ।

त्यो त पार्टीको बृहत् हितसँग जोडिएको विषय हो । जहाँसम्म पुनर्गठनको विषय छ, त्यसलाई साँघुरो अर्थमा हेर्नुहुँदैन। पार्टी अध्यक्षले समेत पुनर्गठनलाई नेतृत्वको पुनर्गठनका रूपमा व्याख्या गर्नुभएको छ विषय हो।

वैचारिक, राजनीतिक, सङ्गठनात्मक तर मेरो विचारमा पुनर्गठन बहुआयामिक तथा जीवनशैली र आचरणका विषय पनि यसभित्र पर्दछन् । कतिपय अवस्थामा नेतृत्वको कार्यशैलीमा रूपान्तरण गर्नुपर्ने विषय पनि पुनर्गठनको महत्वपूर्ण पक्ष बन्न पुग्छ कतिपय अवस्थामा नेतृत्वको विषय पनि मुख्य बन्न पुग्दछ ।

कतिबेला के कुरामा सुधार ल्याउने भन्ने कुरा पार्टीको कुरा हो । हाम्रो आन्दोलनका सन्दर्भमा झापा विद्रोहका समयमा भएका अतिवादी भूललाई सच्याउने क्रममा २०३७ सालमा भएको बहस र निष्कर्ष पनि वैचारिक पुनर्गठनको विषय थियो ।

२०४९ सालको पाँचौं राष्ट्रिय महाधिवेशनबाट जनताको बहुदलीय जनवाद (जबज) लाई पार्टी कार्यक्रमका रूपमा स्थापित गर्ने काम पनि वैचारिक पुनर्गठनको ऐतिहासिक महत्त्वको काम थियो।

पार्टीको आठौं महाधिवेशनले अघि सारेको पार्टी जीवनको लोकतान्त्रीकरण सङ्गठनात्मक जीवनको पुनर्गठनसँग सम्बन्धित अत्यन्त महत्वपूर्ण काम थियो । त्यसमा नेतृत्व यथावत् रहेर पनि पार्टी जीवनमा ठूलो परिवर्तन ल्याइएको थियो ।

यतिबेलाको निर्वाचन समीक्षा र पार्टी पुनर्गठनलाई सोही रूपमा स्थापित गर्न नसक्नु हाम्रो कमजोरी रह्यो भन्ने लाग्दछ । सुरुदेखि नै छलफल नेतृत्वको प्रश्नमा केन्द्रित हुँदा यो उद्देश्यअनुरूप अघि बढ्न सकेन । अनावश्यक आशङ्का र अन्तरविरोधको स्थिति सिर्जना भयो ।

त्यसलाई केन्द्रीय कमिटीको बैठकबाट एक हदसम्म सुधार गर्ने प्रयास भएको छ । तर आन्दोलनका सामु उत्पन्न चुनौतीको विषयमा आगामी दिनमा हामीले धेरै काम गर्नुपर्ने देख्छु म। जसरी सोभियत मोडलको समाजवादको विघटनले विश्व कम्युनिस्ट आन्दोलनमा गम्भीर चुनौती पैदा भएको थियो, यतिबेला सूचना प्रविधिको तीव्र विकासले उत्पादन शक्ति र उत्पादन सम्बन्धमा समेत निकै ठूलो फेरबदल ल्याइदिएको छ ।

स्मार्टफोन र एआईको विकासले सामाजिक मनोविज्ञान र सम्बन्धमा समेत गहिरो बदलाव ल्याइदिएको छ यतिबेलाको निर्वाचन समीक्षा र पार्टी पुनर्गठनलाई सोही रूपमा स्थापित गर्न नसक्नु हाम्रो कमजोरी रह्यो भन्ने लाग्दछ । सुरुदेखि नै छलफल नेतृत्वको प्रश्नमा केन्द्रित हुँदा यो उद्देश्यअनुरूप अघि बढ्न सकेन ।

नयाँ पुस्ता विचारधारात्मक राजनीतिबाट टाढिदै लोकप्रियतावादको चङ्गुलमा फस्न पुगेको छ । पुँजीवादी साम्राज्यवादले त्यसको उपयोग आफ्नो हितका पक्षमा गर्न सफल भएको छ । तर सामाजिक क्रान्तिका पक्षमा सूचना र प्रविधिको प्रयोग जुन रूपमा हुनुपर्ने हो, हुन सकेको छैन।

सूचना र प्रविधिमा भएको विकासलाई वर्गसङ्घर्ष र त्यसमा आधारित राजनीतिक सङ्घर्षको औजार बनाउन सकिएको छैन । जुन पुस्ताको हितका लागि हामी समाजवादी क्रान्तिको कुरा गरिरहेका छौं उसले नै हाम्रो आन्दोलनलाई सही ढङ्गले बुझ्न सकिरहेको छैन।

यस्तो चुनौतीपूर्ण अवस्थाको सुधारका लागि नयाँ वैचारिक पुनर्जागरणको आवश्यकता छ । अर्थात् जबजको आलोकमा सूचना र प्रविधिको युगको राजनीतिक सङ्घर्षको कार्ययोजना र कार्यदिशा तयार गर्नुपर्ने भएको छ ।

समयक्रममा हामी त्यो कार्यभार पनि पूरा गरेर अधि बढ्नेछौं। पार्टी केन्द्रीय कमिटीको बैठकले हाम्रो पार्टीसँग 'रियलाइजेसन' गर्ने सामथ्र्यं छ भनेर भविष्यको दिशा देखाउने काम गरेको छ । यसलाई पनि सकारात्मक रूपमा लिन सक्नुपर्दछ ।

कार्यदलमार्फत ठूलै पार्टी पङ्क्तिलाई सहभागी गराएर महत्वपूर्ण राजनीतिक निष्कर्षहरू सङ्कलन गर्नुभएको थियो । तर कार्यकर्ताहरूको विचार, सुझाव र भावना कुल्चिएर नेतृत्वको आदेशलाई फेरि पनि अनुमोदन गर्नुभयो । कार्यकर्ताहरूको यस्तो अपमान किन ?
कार्यदलले उठाएका थुप्रै विषयलाई अध्यक्षको प्रतिवेदनले समेटेको छ । कार्यदलले आफ्नो प्रतिवेदन बुझाउनुभन्दा पहिले नै पार्टी पङ्क्तिबाट आएका सुझावहरू अध्यक्षले प्राप्त गरिसक्नुभएको थियो ।

कार्यदललाई प्राप्त सुझावको अपेक्षाअनुसार नै बैठकबाट पारित प्रस्तावमा समेत विगतका कमीकमजोरी हटाउने र भविष्यमा कमजोरी दोहोरिन नदिने सङ्कल्प गरिएको छ ।

कार्यदलको औपचारिक प्रतिवेदन बैठकको अघिल्लो दिन मात्र प्रस्तुत भएकाले सबै विषयमा सूक्ष्म रूपमा छलफल विश्लेषण हुन नपाएको कुरा सत्य नै हो । तर प्रतिवेदनलाई पार्टी सचिवालयले ग्रहण गरेको छ ।

समयक्रममा त्यसका उपयुक्त सुझावलाई ग्रहण गर्दै जाने सहमतिसमेत भएको छ । वास्तवमा पार्टीको जीवन पार्टी, कार्यकर्ता र जनतासँगको सम्बन्धमा अडेको हुन्छ । यस प्रश्नमा नेकपा एमाले सदैव स्पष्ट छ । यसपटक केन्द्रीय कमिटीको बैठकबाट पारित प्रतिवेदनले पनि पार्टीसँग आत्मसमीक्षा गर्ने सामर्थ्य छ भन्ने कुरामा विशेष जोड दिएको छ । राष्ट्रवाणी साप्ताहिकका साथमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan