Saturday 14th of November | २०८३ कार्तिक २८ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

छठ पर्वको सुरक्षामा उच्च सतर्कता अपनाउन आईजीपी डा. केसीको निर्देशन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २८ शनिबार |
newsabhiyan

सम्भावित सुरक्षा चुनौतीको पूर्वआकलन गरी प्रहरी परिचालन गर्न र जलाशय क्षेत्रमा विशेष निगरानी राख्न निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज कुमार के.सी.ले छठ पर्वलाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउन देशभर उच्च सतर्कताका साथ प्रहरी परिचालन गर्न निर्देशन दिनुभएको छ।

भर्चुअल माध्यमबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखसँग छलफल गर्दै आईजीपी के.सी.ले छठ पर्व लक्षित सुरक्षा योजनाबारे जानकारी लिनुका साथै सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन आवश्यक निर्देशन दिनुभएको हो।

छलफलका क्रममा उहाँले सम्भावित सुरक्षा चुनौतीको पूर्वआकलन गरी सोहीअनुसार सुरक्षा योजना कार्यान्वयन गर्न र कुनै पनि किसिमको सुरक्षा कमजोरी हुन नदिन प्रहरी अधिकारीहरूलाई निर्देशन दिनुभयो।

पर्वका क्रममा हुन सक्ने अवाञ्छित गतिविधि, सुरक्षा चुनौती तथा संवेदनशील अवस्थाबारे समयमै सूचना संकलन, विश्लेषण र आदानप्रदान गर्नुपर्नेमा जोड दिँदै उहाँले सम्बन्धित सबै सुरक्षा निकाय तथा सरोकारवाला पक्षसँग आवश्यक समन्वय र सहकार्य गर्न पनि निर्देशन दिनुभयो।

छठ पर्वमा नदी, पोखरी तथा अन्य जलाशय आसपास श्रद्धालु भक्तजनको ठूलो जमघट हुने भएकाले त्यस्ता क्षेत्रमा विशेष सुरक्षा सतर्कता अपनाउन उहाँले निर्देशन दिनुभएको छ। साथै, भीडभाडको प्रभावकारी व्यवस्थापन गर्दै श्रद्धालु भक्तजनको आवागमन र सुरक्षालाई सहज बनाउन आवश्यक व्यवस्था मिलाउनुपर्ने उहाँको भनाइ थियो।

आईजीपी के.सी.ले भीड नियन्त्रणका क्रममा संवाद, सम्झाइबुझाइ र समन्वयलाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिँदै बल प्रयोग गर्नुपर्ने अवस्था आएमा प्रचलित कानुन, आवश्यकताको सिद्धान्त र समानुपातिकताको मापदण्डअनुसार न्यूनतम बल प्रयोग गर्न स्पष्ट पार्नुभयो।

त्यसैगरी, फिल्डमा खटिने प्रहरीको परिचालनलाई प्रभावकारी बनाउन तथा सुरक्षा अवस्थाको प्रत्यक्ष निगरानी र नियन्त्रण कायम राख्न सम्बन्धित फिल्ड कमाण्डरहरूलाई समेत निर्देशन दिनुभएको छ।

उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख तथा सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो।

नेपाल प्रहरीले छठ पर्वका अवसरमा हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण, भीड व्यवस्थापन र श्रद्धालु भक्तजनको सुरक्षालाई प्राथमिकतामा राख्दै सुरक्षा योजना कार्यान्वयन गर्ने जनाएको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan