Saturday 14th of November | २०८३ कार्तिक २८ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गण्डकी प्रदेशस्तरीय ‘पीएम कप महिला’ टी-२० क्रिकेट सुरु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २८ शनिबार |

कास्की, २८ कात्तिकः पोखरामा आजदेखी गण्डकी प्रदेशस्तरीय ‘पीएम कप महिला टी-२०’ छनोट क्रिकेट प्रतियोगिता सुरु भएको छ । 

    पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन खेलमा चन्द्रमाया बरालको उत्कृष्ट अलराउण्ड प्रदर्शनमा कास्कीले नवलपुरलाई १९ रनले पराजित गरेको छ । 

    यसैगरी, दोस्रो खेलमा स्याङ्जा जिल्ला महिला क्रिकेट टोलीले पर्वतलाई १०७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । उद्घाटन खेलमा कास्कीले दिएको ११७ रनको लक्ष्य पछ्याएको नवलपुरले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९७ रन मात्रै बनाउन सक्यो । 

    नवलपुरका लागि धनकुमारी क्षेत्रीले २८, आयुष्मा चापागाईंले अविजित २३ र निकिता कुँवरले १४ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । आयुष्माले २३ बलमा एक चौका र एक छक्का प्रहार गरिन् । 

    यसअघि टस जितेर नवलपुरकी कप्तान श्रेया शर्माले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कास्कीले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर ११६ रन बनाएको थियो । 

    कास्कीका लागि चन्द्रमाया बरालले ५२ बलमा चार चौकाको मद्दतले अविजित ५५ रन बनाउँदै अर्धशतक पूरा गरिन्। सम्झना बिकले १८ र रिया तामाङले अविजित १४ रनको योगदान दिइन् । नवलपुरका श्रेया शर्मा र अनुषा तिमिल्सिनाले समान एक–एक विकेट लिए ।

    बलिङतर्फ पनि चन्द्रमायाले उत्कृष्ट प्रदर्शन गरिन् । उनले चार ओभरमा १२ रन खर्चेर दुई विकेट लिइन् । वर्षा पौडेलले एक विकेट हात पारिन् । ब्याटिङमा अर्धशतक र बलिङमा दुई विकेट लिएकी चन्द्रमाया खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।

    दोस्रो खेलमा टस जितेर पहिले बलिङ रोजेको पर्वतविरुद्ध स्याङ्जाले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै १४७ रनको योगफल तयार पारेको थियो । स्याङ्जाका लागि सलिना सेनले अविजित ५५ रन बनाउँदै उत्कृष्ट ब्याटिङ गरिन् । उनले ४८ बलमा ६ चौका प्रहार गरिन् ।

    त्यस्तै, श्रेया शाहले २७, सीमना केसीले २९ तथा सेरिना थापाले अविजित ८ रनको योगदान दिइन् । १४८ रनको लक्ष्य पछ्याएको पर्वतको टोली १५ ओभरको चौथो बलमा ४० रनमै समेटियो ।

    प्रतियोगिताको उद्घाटन  गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दीपेन्द्र परियारले ‘अम्पायर’द्वय अर्जुन उपाध्याय र अरुण अधिकारीलाई बल हस्तान्तरण गरेर गर्नुभएको थियो । 

    प्रतियोगिताबाट छनोट हुने खेलाडीले आगामी १० औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने आयोजक प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताउनुभयो । त्यस्तै, मङ्सिर तेस्रो सातादेखि पोखरामा आयोजना हुने ‘पीएम कप’ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि पनि यसै छनोट प्रतियोगिताको प्रदर्शनका आधारमा प्रदेश टोली निर्माण गरिनेछ । 

    ‘लिग प्रणाली’मा सञ्चालन भइरहेको प्रतियोगिता आगामी मङ्सिर २ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा घरेलु टोली कास्कीसहित स्याङ्जा, पर्वत, बागलुङ र नवलपुरको टोली सहभागी रहेको छ । प्रतियोगिताको मुख्य उद्देश्य उत्कृष्ट खेलाडी छनोट गरी राष्ट्रिय प्रतियोगिताका लागि प्रतिस्पर्धी प्रदेश टोली तयार गर्नु रहेको अध्यक्ष सिग्देलले बताउनुभयो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan