Saturday 14th of November | २०८३ कार्तिक २८ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अब घरबाटै स्वास्थ्य परीक्षण बुक गर्न सकिने, सिभिल अस्पतालमा अनलाइन सेवा सुरु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २८ शनिबार |

काठमाडौं । निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) ले स्वास्थ्य परीक्षण तथा ओपीडी सेवाका लागि अनलाइन बुकिङ सुविधा सुरु गरेको छ। नयाँ व्यवस्थासँगै अब स्वास्थ्य परीक्षण गराउन अस्पताल पुगेर लामो समयसम्म लाइनमा बस्नुपर्ने झन्झट हट्ने भएको छ।

अस्पतालले ४६० भन्दा बढी ल्याब तथा रेडियोलोजी परीक्षण अनलाइनमार्फत बुक गर्न सकिने व्यवस्था गरेको हो। यसअन्तर्गत सेवाग्राहीले घरबाटै आफूलाई आवश्यक स्वास्थ्य परीक्षण छनोट गर्न, अस्पताल आउने मिति तय गर्न तथा अनलाइनबाटै शुल्क भुक्तानी गर्न सक्नेछन्।

अस्पतालले सम्पूर्ण शरीरको स्वास्थ्य जाँच (फुल बडी चेकअप), मधुमेह परीक्षण तथा वैदेशिक रोजगारी र अध्ययनका लागि आवश्यक स्वास्थ्य परीक्षणका प्याकेजसमेत उपलब्ध गराएको छ।

यसरी गर्न सकिन्छ स्वास्थ्य परीक्षण बुकिङ

अनलाइन बुकिङका लागि सेवाग्राहीले अस्पतालको पोर्टलमा गएर मोबाइल नम्बर र ओटीपीमार्फत आफ्नो पहिचान पुष्टि गर्नुपर्नेछ। त्यसपछि आफूलाई आवश्यक स्वास्थ्य परीक्षण प्याकेज वा ल्याब तथा रेडियोलोजी परीक्षण छनोट गरी अस्पताल आउने मिति निर्धारण गर्न सकिनेछ।

परीक्षण छनोट गरेपछि उपलब्ध क्यूआर कोडमार्फत शुल्क भुक्तानी गरी बुकिङ सुनिश्चित गर्न सकिन्छ। बुकिङ पूरा भएपछि तोकिएको मितिमा अस्पताल पुगेर सेवा लिन सकिने व्यवस्था गरिएको छ।

त्यस्तै, अस्पतालले ओपीडी टिकटसमेत अनलाइनबाटै लिन सकिने सुविधा उपलब्ध गराएको छ। यसका लागि सेवाग्राहीले मोबाइल नम्बर वा निजामती कर्मचारीको हकमा पीआईएस नम्बरमार्फत पहिचान पुष्टि गर्नुपर्नेछ।

त्यसपछि आफ्नो स्वास्थ्य समस्या तथा लक्षण उल्लेख गर्ने वा सम्बन्धित विभाग छनोट गरी चिकित्सक र उपलब्ध दिन निर्धारण गर्न सकिनेछ। सेवाग्राहीले सोही दिनको टोकन वा आगामी दिनको अपोइन्टमेन्ट लिन सक्नेछन्।

अनलाइनबाट टिकट बुक गरेपछि टिकट डाउनलोड गर्न सकिनेछ भने पालो आएपछि नागरिक एपमार्फत सूचनासमेत प्राप्त हुनेछ।

अस्पतालले अनलाइन प्रणालीमार्फत स्वास्थ्य परीक्षण र ओपीडी सेवालाई सहज, व्यवस्थित तथा सेवाग्राहीमैत्री बनाउने उद्देश्य राखेको छ। यस सुविधाले अस्पतालमा हुने अनावश्यक भीड र लामो प्रतीक्षालाई कम गर्दै समयको बचत गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

स्वास्थ्य परीक्षण तथा ओपीडी सेवाको अनलाइन बुकिङ र थप जानकारीका लागि अस्पतालको आधिकारिक पोर्टल booking.csh.gov.np मा जान सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan