बाढीग्रस्त स्याफ्रुबेँसीमा स्वास्थ्य शिविर
रसुवा, १३ कात्तिकः भोटेकोशी नदीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित नागरिकका लागि रसुवाको स्याफ्रुबेँसी बजारमा पहिलोपटक एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
गोसाइँकुण्ड गाउँपालिका, भिजिट डेभलपमेन्ट रिसर्च सेन्टर अमेरिका र नेपाल पर्वतारोहण सङ्घको संयुक्त आयोजनामा सञ्चालन गरिएको उक्त शिविरबाट बाढी प्रभावित क्षेत्रका ३५० जनाभन्दा बढी नागरिक लाभान्वित भएका छन् । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विमल घिमिरेका अनुसार बाढीका कारण पूर्ण रूपमा क्षतिग्रस्त बनेको स्याफ्रुबेँसी बजार र आसपासका क्षेत्रमा विपदपश्चात् फैलिन सक्ने स्वास्थ्य जोखिमलाई न्यूनीकरण गर्न तथा प्रभावित नागरिकलाई स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको हो ।
शिविरमा ठूलोस्याफ्रु, स्याफ्रुबेँसी र भार्खु गाउँका बासिन्दाको स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक औषधि निःशुल्क वितरण गरिएको प्रमुख घिमिरेले जानकारी दिनुभयो । विपदको यस्तो कठिन परिस्थितिमा पनि प्रभावित नागरिकको घरदैलोमै पुगेर स्वास्थ्य सेवा प्रवाहमा निरन्तर सहयोग र सहकार्य गर्ने सम्पूर्ण सङ्घसंस्था, स्थानीय जनप्रतिनिधि तथा चिकित्सक एवं स्वास्थ्यकर्मीप्रति आयोजक तथा स्थानीयवासीले आभार प्रकट गरेका छन् ।

