नेपाल–भारतबीच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुने
काठमाडौँ, १२ कात्तिकः मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि, प्रभावित व्यक्तिलाई मनोसामाजिक सहयोग तथा पुनःस्थापनाका लागि नेपाल र भारतका दुई संस्थाले एकापसमा सहकार्य गर्ने भएका छन् ।
भारतको गोवास्थित गाना गोवा मानसिक स्वास्थ्य अस्पताल तथा पुनःस्थापना केन्द्र र नेपालको ललितपुरस्थित युनाइटेड फेलोसिप नेपाल (युएफएन) को संयुक्त आयोजनामा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गरिएको हो ।
‘स्वस्थ भोलिका लागि सँगै अघि बढौँ’ भन्ने नारासहित आयोजित कार्यक्रममा मानसिक स्वास्थ्यसम्बन्धी समस्याबारे जनचेतना फैलाउने, प्रभावित व्यक्तिलाई आवश्यक सहयोग उपलब्ध गराउने तथा उनीहरूको जीवन सहज र सम्मानजनक बनाउन सामाजिक सहयोग र संस्थागत सहकार्यको आवश्यकतामा जोड दिइएको थियो ।
कार्यक्रमअन्तर्गत गोवामा दुवै संस्थाका प्रतिनिधिबीच संयुक्त बैठक आयोजना गरिएको थियो । बैठकमा गाना गोवाका मनोचिकित्सक डा प्याट्रिक र मनोसामाजिक परामर्शदाता फ्रान्सिस्को फर्नान्डिस तथा युनाइटेड फेलोसिप नेपालका संस्थापक अध्यक्ष सुजिन महर्जन सहभागी हुनुहुन्थ्यो ।
बैठकमा मानसिक स्वास्थ्यका क्षेत्रमा अनुभव आदानप्रदान, मनोसामाजिक सहयोग विस्तार तथा पुनःस्थापनासम्बन्धी कार्यक्रमलाई अघि बढाउने विषयमा छलफल भएको महर्जनले जानकारी दिनुभयो । मानसिक स्वास्थ्यसम्बन्धी समस्याबाट प्रभावित व्यक्तिलाई आवश्यक परामर्श, सहयोग र पुनःस्थापनाको अवसर उपलब्ध गराउँदै उनीहरूप्रति सकारात्मक दृष्टिकोण विकास गर्नुपर्नेमा कार्यक्रममा जोड दिइएको थियो ।
महर्जनले नेपाली टोलीलाई न्यानो स्वागत र आत्मीय आतिथ्य प्रदान गरेकामा गाना गोवा मानसिक स्वास्थ्य अस्पताल तथा पुनःस्थापना केन्द्रको टोलीप्रति आभार व्यक्त गर्नुभएको थियो । दुवै संस्थाबीचको सहकार्यबाट आगामी दिनमा मानसिक स्वास्थ्य सचेतना, मनोसामाजिक सहयोग तथा पुनःस्थापनाका क्षेत्रमा थप कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

