Wednesday 28th of October | २०८३ कार्तिक ११ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पोखरा स्कुल बस दुर्घटनाः प्राविधिक खराबी र तीव्र गति

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ११ बुधबार |

कास्की, ११ कात्तिकः पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते भएको  कालिका बोर्डिङ स्कुलको बस दुर्घटनामा प्राविधिक खराबी, तीव्र गति र चालकको लापर्वाहीलाई जिम्मेवार बनाइएको छ । 

    दुर्घटनाको छानबिनका लागि पोखरा महानगरद्वारा गठन गरिएको छानबिन समितिले दुर्घटनाका सम्भावित कारण बसको प्राविधिक खराबीलगायतका पक्ष रहेको निष्कर्षसहित प्रतिवेदन बुझाएको छ । महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा गठित समितिले दुर्घटनाको प्राविधिक, मानवीय तथा सडक पूर्वाधारसम्बन्धी पक्षको अध्ययन गरी नगरप्रमुखसमक्ष प्रतिवेदन पेस गरेको हो । 

    समितिले दुर्घटनाको वास्तविक कारण पहिचानसँगै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन विभिन्न सुधारका उपायसमेत सिफारिस गरेको छ । गत असोज २३ गते बिहान ६ः३० बजेको समयमा कालिका बोर्डिङ स्कुलको ग२ख १७४७ नम्बरको बस माझठानाबाट विद्यार्थी लिएर कालिकातर्फ आउने क्रममा सडकबाट करिब २०० मिटर तल खसेको थियो । दुर्घटनामा पाँच विद्यार्थीसहित छ जनाको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए । 

    समितिले बसको ब्रेक प्रणाली, स्टेरिङ, सस्पेन्सन र टायरको अवस्था दुर्घटनाका सम्भावित प्राविधिक कारणका रूपमा औँल्याएको छ । उपलब्ध मर्मत अभिलेख नियमित रूपमा अद्यावधिक भएको नदेखिएको तथा बसको नवीकरण भए पनि अनिवार्य प्राविधिक जाँचपास (फिटनेस टेस्ट) नभएको प्रतिवेदनमा उल्लेख छ । दुर्घटनापछि गरिएको प्राविधिक परीक्षणमा स्पष्ट गडबडी फेला नपरे पनि प्राविधिक खराबी र तीव्र गतिले दुर्घटना निम्त्याएको हुन सक्ने समितिको आकलन रहेको समिति संयोजक सुवेदीले बताउनुभयो ।

    चालकको बयानअनुसार बस चलाइरहेका बेला अचानक अगाडि कालो वस्तु देखिएपछि बस अनियन्त्रित भएको थियो । तर, दुर्घटनास्थलको भौगोलिक अवस्था, सडकको बनोट, दृश्यता र सम्भावित अवरोधको थप विश्लेषण आवश्यक रहेको समितिले जनाएको छ ।

    प्रतिवेदनमा सडक किनारमा सुरक्षा बार, गार्डरेललगायतका पर्याप्त सुरक्षा संरचना नहुँदा दुर्घटनाको जोखिम बढेको समितिको निष्कर्ष छ । बस सडकबाट करिब २०० मिटर तल खसेकाले भिरको उचाइ र सडकको अवस्थाले दुर्घटनाको गम्भीरता बढाएको समितिले जनाएको छ । 

    बसको स्वामित्व तथा सञ्चालन व्यवस्थामा पनि सुधार आवश्यक रहेको समितिले औँल्याएको छ । दुर्घटनामा परेको बस श्रद्धा भण्डारीको नाममा दर्ता रहेको र विद्यालयसँग भाडामा सञ्चालन गर्ने सम्झौता भएको देखिएको छ ।

     विद्यालयको प्रत्यक्ष नियन्त्रण बाहिर रहेका सवारीसाधन प्रयोग गर्दा जोखिम बढ्न सक्ने भन्दै समितिले नियमित प्राविधिक जाँचपास र निर्धारित मापदण्ड पूरा गरेका सवारीसाधन मात्र प्रयोग गर्न सुझाव दिइएको छ ।

    समितिले विद्यालयका सवारीसाधनको नियमित प्राविधिक परीक्षण, चालक तथा परिचालकको योग्यता र स्वास्थ्य परीक्षण, सुरक्षा उपकरणको उपलब्धता, बिमा व्यवस्था तथा स्कुल बस सञ्चालनसम्बन्धी मापदण्डको कडाइका साथ पालना गर्न सिफारिस गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan