सैनिक हवाई सेवाद्वारा दुई लाख उडान घण्टा पूरा: प्रधान सेनापतिद्वारा शिलालेख अनावरण र पुस्तक विमोचन
काठमाडौँ, कार्तिक ११:नेपाली सेनाको सैनिक हवाई सेवाले दुई लाखभन्दा बढी उडान घण्टा पूरा गरेको अवसरमा आज गौचर ब्यारेकमा आयोजित विशेष कार्यक्रमका बीच प्रधान सेनापति अशोक राज सिग्देलले निर्माण गरिएको शिलालेख अनावरण गर्नुभएको छ।
सोही समारोहमा प्रधान सेनापति सिग्देलले "सैनिक हवाई सेवा विगतदेखि वर्तमानसम्म" नामक पुस्तकको समेत विमोचन गर्नुभयो। उक्त पुस्तकमा सैनिक हवाई सेवाको ऐतिहासिक यात्रा, अनुभव तथा योगदानलाई समेटिएको छ।
विक्रम संवत् २०२२ सालमा स्थापना भएको सैनिक हवाई सेवाले देशमा आउने प्राकृतिक विपद् व्यवस्थापन, कठिन भौगोलिक क्षेत्रमा खोज तथा उद्धारका साथै विभिन्न जटिल परिस्थितिहरूमा हवाई साधनमार्फत अहोरात्र सेवा प्रदान गर्दै आइरहेको छ।
गौचर ब्यारेकमा सम्पन्न उक्त भव्य कार्यक्रममा बलाधिकृत, रथीवृन्द, नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीहरूका साथै सैनिक हवाई सेवामा कार्यरत तथा अवकाशप्राप्त रथीवृन्द र अधिकृतहरूको उपस्थिति रहेको थियो।

