१५ दिनको अवधिमा २ सय ३९ जना लागूऔषध कारोबारी पक्राउ
काठमाडौं : सुनसरी इनरूवा नगरपालिका-४ ज्ञानोदय टोलबाट अवैध लागूऔषध गाँजा ९ सय १५ किलो ६ सय ८० ग्राम सहित ३६ वर्षीय बुलबुल यादव समेत ४ जना कात्तिक १ गते पक्राउ परे । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले बुलबुल यादवको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं दक्षिणकाली नगरपालिका-५ फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७२ हजार ८० ट्याब्लेट सहित बारा घर भएका २७ वर्षीय सुदिप पटेल र पर्सा घर भएका २७ वर्षीय सुनिल सहनी कात्तिक २ गते पक्राउ परे ।
विगत १५ दिनको अवधिमा अवैध लागूऔषध सहित पक्राउ पर्ने बुलबुल यादव लगायतका व्यक्तिहरू प्रतिनिधि पात्र मात्र हुन् । नेपाल प्रहरीले यस वर्षको दसैं (असोज २५ देखि कात्तिक ८ गते) को अवधिमा देशभरबाट २ सय ३९ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ ।
जसमध्ये लागूऔषध नियन्त्रण ब्यूरोबाट ३ जना, उपत्यकाबाट ४७ जना, कोशी प्रदेशबाट ३८ जना, मधेश प्रदेशबाट २४ जना, बागमती प्रदेशबाट २६ जना, गण्डकी प्रदेशबाट १२ जना, लुम्बिनी प्रदेशबाट ३९ जना, कर्णाली प्रदेशबाट १८ जना र सुदूरपश्चिम प्रदेशबाट ३२ जना पक्राउ परेका हुन् ।
पछिल्लो समयमा लागूऔषधको प्रयोग, ओसारपसार तथा कारोबार नियन्त्रणमा प्रहरीले विशेष अप्रेशन सञ्चालन गरी कार्य गरिरहेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘लागूऔषध जस्तो अन्तर्राष्ट्रिय समस्यालाई निराकरण गर्न नेपाल प्रहरी आक्रमक रूपमा प्रस्तुत भइरहेको छ ।
चाडपर्वको समयमा समेत लागूऔषध कारोबार हुने विभिन्न नाकाहरूमा सुक्ष्म रूपमा सूचना संलकनका साथै योजनावद्ध प्रभावकारी प्रहरी परिचालन गरी संलग्नलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी थप सक्रिय भई कार्य गरिरहेको छ ।’
सो अवधिमा अवैध लागूऔषध गाँजा २ हजार ८ सय ७९ किलो ६८९ ग्राम ६८ मिलिग्राम, चरेस करिब ३६ किलो, अफिम १ किलो ३१६ ग्राम ५२१ मिलिग्राम, हेरोइन १ किलो ७७ ग्राम ९१९ मिलिग्राम, कोकिन २७ ग्राम ६७८ मिलिग्राम तथा विभिन्न किसिमका नियन्त्रित लागूऔषध समेत प्रहरीले बरामद गरेको छ ।
विगत १५ दिनको अवधिमा विभिन्न अपराधमा संलग्न १ हजार ३ सय २७ जना पक्राउ
नेपाल प्रहरीले यस वर्षको दसैं (असोज २५ देखि कात्तिक ८ गते) को अवधिमा देशभरबाट १ हजार ३ सय २७ जना विभिन्न अपराधमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ ।
जसमध्ये ब्यूरोहरूबाट ४ जना, उपत्यकाबाट २ सय ३० जना, कोशी प्रदेशबाट २ सय ४ जना, मधेश प्रदेशबाट २ सय ८९ जना, बागमती प्रदेशबाट १ सय जना, गण्डकी प्रदेशबाट ९१ जना, लुम्बिनी प्रदेशबाट २ सय ३ जना, कर्णाली प्रदेशबाट ६० जना र सुदूरपश्चिम प्रदेशबाट १ सय ४६ जना पक्राउ परेका हुन् ।
सो अवधिमा १ हजार ४ सय २२ वटा मुद्दा दर्ता भएका छन् । जसमध्ये ज्यान सम्बन्धी कसुर अन्तर्गत २ सय ६४, आत्महत्या सम्बन्धी १ सय २६, चोरी सम्बन्धी १ सय ५८, लागूऔषध सम्बन्धी २ सय ७, हातहतियार तथा विष्फोटक पदार्थ सम्बन्धी ८, अपहरण तथा शरिर बन्धक सम्बन्धी ३, आर्थिक अपराध सम्बन्धी ३९, चेक अनादर सम्बन्धी १ सय ८, सामाजिक अपराध सम्बन्धी २ सय ६१, महिला तथा बालबालिका सम्बन्धी १ सय २, सवारी सम्बन्धी १ सय २९, विद्युतीय कारोबार सम्बन्धी ७, लिखित सम्बन्धी ५ र नागरिकता सम्बन्धी कसुर अन्तर्गत ५ वटा मुद्दाहरू दर्ता भएका हुन् ।
गत वर्षको दसैंको अवधिमा ८ सय १ जना पक्राउ परेका थिए भने ९ सय ६० वटा मुद्दा दर्ता भएको थियो ।
आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी खरो रूपमा प्रस्तुत भइरहेको सन्दर्भमा सबै प्रहरी कार्यालयहरूले त्यस्ता गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिने कार्यलाई प्राथमिकतामा राखी कार्य गरिरहेको छ ।
साथै प्रहरीले समुदाय-प्रहरी साझेदारी अन्तर्गत लागूऔषध उत्पादन, ओसारपसार र प्रयोगबाट सामाजिक तथा व्यक्तिगत जीवनमा पर्न जाने नकारात्मक असरहरूको बारेमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गरिरहेको छ ।

