मोरङमा पर्यटक भिसा दुरुपयोग गरी क्रिश्चियन धर्म प्रचार गर्ने १० विदेशी नागरिक पक्राउ
विराटनगर, कात्तिक ११ । पर्यटक भिसाको दुरुपयोग गर्दै क्रिश्चियन धर्मको प्रचारप्रसार तथा अवैध स्वास्थ्य शिविर सञ्चालन गरेको आरोपमा मोरङबाट १० जना विदेशी नागरिक पक्राउ परेका छन्। मोरङको कानेपोखरी गाउँपालिका-७, बरगाछी क्षेत्रमा गैरकानुनी रूपमा क्रिश्चियन धार्मिक गतिविधिमा संलग्न भएको पाइएपछि प्रहरी तथा स्थानीय प्रशासनले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
गृह मन्त्रालयका अनुसार पक्राउ पर्नेहरूमा ब्राजिल, क्यानडा र अमेरिकाका नागरिक रहेका छन्। उनीहरू 'मर्सी डेभलपमेन्ट' नामक संस्थाको आवरणमा पर्यटक भिसामा नेपाल प्रवेश गरेका थिए। स्वास्थ्य शिविर सञ्चालन गर्ने बहानामा उनीहरूले धर्म प्रचारप्रसार सम्बन्धी गतिविधि गरिरहेको फेला परेपछि उनीहरूका राहदानी लगायतका कागजात जफत गरी आवश्यक कारबाहीका लागि अध्यागमन विभागमा पठाइएको छ।
गत अक्टोबर २२ र २३ मा नेपाल आएका ती विदेशी नागरिकहरूको भिसाको म्याद आगामी नोभेम्बर ६ देखि २१ सम्म रहेको अध्यागमन विभागले जनाएको छ। कात्तिक ८ गतेदेखि चार दिनसम्म सञ्चालन गर्ने गरी सुरु गरिएको उक्त शिविरमा विदेशी चिकित्सकसहितको टोलीले सेवा दिने भन्दै प्रचार गरिएको थियो। तर, आवश्यक कानुनी अनुमति नलिई र भिसाको सर्त विपरीत गैरकानुनी गतिविधि गरेपछि 'विदेशी नागरिक अनुगमन जिल्ला समिति'को निर्णय बमोजिम प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
अनुसन्धानका अनुसार उक्त विवादित शिविरको तयारी स्थानीय पास्टर पावेल दङ्गालले गरेका थिए। स्थानीयस्तरमा अस्पताल निर्माण गर्ने उद्देश्यले प्रयोग गरिने भनिएको जग्गामा यसअघि पास्टर बाङदेलले क्रिश्चियन धार्मिक कक्षा सञ्चालन गर्दै आएको खुलेको छ। कानेपोखरी बरगाछीका किराना व्यवसायी नवराज श्रेष्ठले अस्पताल निर्माणका लागि भन्दै तीन कट्ठा जग्गामा ६ वटा साना-ठूला भवन निर्माण गरेका थिए।
सोही भवनमा हाल धार्मिक गतिविधि तथा अन्य कार्यक्रम सञ्चालन हुँदै आएको र सोही विषयमा स्थानीयस्तरमा विवाद उब्जिएपछि विवाद मत्थर पार्ने उद्देश्यले उक्त शिविरको आयोजना गरिएको प्रहरीको प्रारम्भिक छानबिनमा देखिएको छ।
नेपालको विद्यमान संविधान र अध्यागमन कानुनले पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकहरूलाई कुनै पनि किसिमको धार्मिक प्रचारप्रसार, धर्म परिवर्तन वा अनुमतिविनाका सामाजिक/स्वास्थ्य शिविर सञ्चालन गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ। भिसा दुरुपयोग गरी कानुनविपरीत धर्म प्रचारमा संलग्न रहेको पुष्टि भएमा उनीहरूलाई देश निकाला (डिपोर्ट) सम्मको कारबाही हुन सक्ने प्रावधान छ।
विदेशी नागरिकहरूले सेवा र परोपकारका नाममा गैरकानुनी धार्मिक गतिविधि गरिरहेको घटना सार्वजनिक भएपछि स्थानीय प्रशासनले जिल्लाभर अनुगमन चुस्त बनाएको छ। प्रहरीले पक्राउ परेका सबै विदेशी नागरिक र घटनाका स्थानीय आयोजकमाथि थप गहन अनुसन्धान अघि बढाएको छ।

