पाकिस्तानमा खानको पार्टीका २७८ सदस्य पक्राउ
पेशावर, २६ असोज : पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू भएपछि जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का २७८ सदस्यलाई प्रहरीले हिरासतमा लिएको छ ।
दुई प्रहरी अधिकारीका अनुसार खानको रिहाइको माग गर्दै आइतबार भएको सरकारविरोधी प्रदर्शनपछि प्रान्तमा आपत्कालीन शासन घोषणा गरिएको थियो । नाम सार्वजनिक नगर्ने सर्तमा उनीहरूले आइतबारदेखि पार्टीका सदस्यहरूलाई हिरासतमा लिइएको जानकारी दिएका हुन् ।
खानका समर्थकहरूले कठोर आर्थिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै सरकारविरोधी प्रदर्शन गरिरहेका छन् । हजारौँ समर्थक खैबर पख्तुनख्वामा पदयात्रामा सहभागी भइरहेका बेला प्रान्तमा आतङ्कवादी हिंसा पनि बढिरहेको छ । विशेषगरी अफगानिस्तानसँगको सीमावर्ती क्षेत्रमा सुरक्षा चुनौती गम्भीर बनेको छ ।
पीटीआईले प्रान्तका मुख्यमन्त्री सोहेल अफ्रिदीलाई राष्ट्रपतिले असाधारण संवैधानिक उपाय घोषणा गरेको केही घण्टापछि पक्राउ गरिएको जनाएको छ । एक प्रशासनिक अधिकारीका अनुसार उहाँलाई आधिकारिक निवासमा ‘सुरक्षात्मक हिरासत’ मा राखेर पछि अर्को स्थानमा सारिएको थियो । अधिकारीले उहाँलाई कहाँ सारिएको हो भन्ने खुलाउन अस्वीकार गरेका छन् ।
खैबर पख्तुनख्वा पीटीआईको बलियो आधार क्षेत्र हो । पाकिस्तान सरकारले सुरक्षा अवस्थामा सुधार नआएसम्म त्यहाँको पीटीआई नेतृत्वको सरकार प्रभावकारी रूपमा सञ्चालन हुन नसक्ने जनाएको छ । सङ्घीय सरकारले प्रान्तीय प्रशासन आतङ्कवादी गतिविधि नियन्त्रण गर्न असफल भएको आरोप लगाउँदै आपत्कालीन शासन आवश्यक भएको दाबी गरेको छ ।
पीटीआईले भने संवैधानिक उपायको विरोध गर्दै त्यसलाई अलोकतान्त्रिक कदम र सङ्घीय सरकारको सत्ता कब्जाको प्रयास भनेको छ ।
पूर्वक्रिकेट खेलाडीसमेत रहनुभएका खान सन् २०२३ अगस्टदेखि जेलमा हुनुहुन्छ । सन् २०२३ मेमा भएका सरकार र सैन्य प्रतिष्ठानविरोधी हिंसात्मक प्रदर्शनपछि उहाँले भ्रष्टाचार र हिंसा भड्काएको लगायतका आरोप सामना गरिरहनुभएको छ । खान र उहाँको कानूनी टोलीले भने ती आरोप अस्वीकार गर्दै राजनीतिक प्रतिशोधबाट प्रेरित भएको बताउँदै आएका छन् ।
