Wednesday 7th of October | २०८३ असोज २१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गमलैगमलाको सहर भक्तपुर

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २१ बुधबार | रेणु त्वानाबासु/रासस
newsabhiyan

ख्वप (भक्तपुर), २१ असोजः हिजोआज तपाईं भक्तपुर घुम्न आउनुभयो भने एउटा फरक दृश्य देख्न सक्नुहुन्छ, त्यो हो जताततै गमला र बोटबिरुवा । भक्तपुर नगरका मुख्य–मुख्य सडकदेखि गल्लीगल्लीका सडकमा पनि छेउछाउमा गमलामा फूलका बोट रोपेर राखेको जताततै सजिलै देख्न सक्नुहुन्छ । 

हिजोसम्म कला र संस्कृतिको सहरका रूपमा चिनिएको भक्तपुरमा आजभोलि एउटा नयाँ र पर्यावरणमैत्री पहिचान थपिँदै गएको छ । भक्तपुर नगरपालिका–७ गोल्मढीका प्रकाश मल्ल भन्नुहुन्छ, “पाइलैपिच्छे सार्वजनिक स्थलमा गमलाहरू लाइनै राखिएका छन् । सायद, एक दिन मानिसहरूले भक्तपुरलाई ‘गमलै गमलाको सहर’ भनेर चिन्नेछन् ।”

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति आफूहरूले गर्न नसकिने ठूलाठूला आश्वासन दिएर जनता नझुकाउने बताउनुहुन्छ । “हामी जे सकिन्छ, त्यही मात्रै बोल्छौँ”, उहाँले भन्नुभयो, “यो हाम्रो काम सानो हो तर हामीलाई विश्वास छ, यो ठूलो महत्वको छ ।

यसले भविष्यमा भक्तपुर हरियो नगर बन्नेछ ।” यसले सबैतिर सुन्दर देखिने उहाँको विश्वास छ । कङ्क्रिटको जङ्गलको रूपमा रहेको सहरलाई सुन्दर बनाउन यो सानो कामले ठूलो टेवा पुग्ने विश्वास उहाँको छ । यसले एकातिर सहरमै हरियो देखिन्छ भने अर्कोतिर स्वच्छ हावा पाउने उहाँको भनाइ छ ।

अमेरिकी नागरिक ई.ए. पावेलले सन् १९२० तिर नेपाल भ्रमणका क्रममा भनेका थिए, “नेपालमा भक्तपुर दरबार क्षेत्रबाहेक अरू केही बाँकी रहेन भने पनि त्यसलाई हेर्नका लागि मात्रै पनि पृथ्वीको आधा चक्कर कट्नु सरह हुन्छ ।”

यस नगरलाई जर्मन वास्तुकलाविद् नील गोत्सोले संसारकै ठूलो जीवित सङ्ग्रहालय भनेका छन् । त्यस्तै संस्कृतिविद् जगदीशशमशेर राणाले भक्तपुरलाई नाचगानको राजधानीको संज्ञा दिएका छन् । यो संज्ञामा अब हरियो भक्तपुर थप्ने आकाक्षाले यो सानो काम गरेको नगर प्रमुख प्रजापति बताउनुहुन्छ ।

भक्तपुर नगरपालिका वातावरण समितिका संयोजक एवं वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व नगरमा हरियाली कायम गर्ने उद्देश्यले सबैतिर गमला राखेर फूलका बोटहरू रोप्ने गरेको बताउनुहुन्छ । नगरपालिकाका वडा नं १ देखि १० सम्मकै सम्पूर्ण वडामा यो काम भएको उहाँ बताउनुहुन्छ ।

कुन वडामा कति ?
ज्याख्वका अनुसार हालसम्म नगरभरि दुई हजार ६२० वटा गमला राखेर फूलका बोटहरू रोप्ने काम भइसकेको छ । वडा नं १ मा ४६५ वटा, वडा नं २ मा ४५०, वडा नं ३ मा ४६५, वडा नं ४ मा आठ वटा, वडा नं ५ मा २६५ वटा, वडा नं ६ मा १६० वटा, वडा नं ७ मा २५० वटा, वडा नं ८ मा १२ वटा, वडा नं ९ मा ३०० वटा र वडा नं १० मा २२५ वटा गमला राखेर फूलका बोटहरू रोपिसकिएको जानकारी उहाँले गराउनुभयो ।

वडा नं ६ का वडाध्यक्ष हरिराम सुवालले आफ्नो वडामा मात्रै ५००÷६०० गमला राख्ने योजना रहेको र यसका लागि गमला बनाउन दिइरहेको जानकारी गराउनुभयो । भक्तपुरमा ठाउँठाउँमा राखेका गमलाहरू रामचन्द्र अवाल र न्हुच्छेकुमार अवालले बनाउँदै आएको उहाँले जानकारी दिनुभयो ।

कहाँकहाँ राखिएको छ ?
विशेषगरी सम्पदा तथा पर्यटकीय क्षेत्रहरू, सडक किनार तथा डिभाइडरहरू, सार्वजनिक भवन तथा कार्यालय परिसर, सांस्कृतिक प्रदक्षिणा मार्गहरू लगायतका क्षेत्रमा गमला राखेर हरियाली बनाइएको छ । सम्पदा तथा पर्यटकीय क्षेत्रहरूअन्तर्गत विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार आसपासका क्षेत्रहरू, दत्तात्रय क्षेत्र र टौमढी जाने प्रमुख पर्यटकीय मार्गहरूमा गमलाहरू राखिएका छन् ।

वडा नं ७ का वडाध्यक्ष उकेश कवांले सडक किनारमा नगरपालिकाभित्र पर्ने मुख्य सडकका किनारहरू, चोकहरू र पैदलयात्री हिँड्ने फुटपाथका छेउहरूमा गमला राखेर हरियाली गर्ने योजना सुरु गरिएको बताउनुभयो ।

त्यस्तै सार्वजनिक भवन तथा कार्यालय परिसरअन्तर्गत भक्तपुर नगरपालिका कार्यालय परिसर, वडा कार्यालयहरू र नगरपालिकाद्वारा सञ्चालित विद्यालय तथा ख्वप अस्पताल वरपर गमला राखिएको छ ।

त्यस्तै सांस्कृतिक प्रदक्षिणा मार्गहरूअन्तर्गत विशेष चाडपर्व (जस्तै गुन्हीपुन्ही÷सापारु) मनाइने परम्परागत सांस्कृतिक सडक मार्गहरूलाई सजाउन अस्थायी वा स्थायी रूपमा गमलाहरू राख्दै आएको वडाध्यक्ष कवांले बताउनुभयो ।

स्याहार चाहिँ कसले गर्छ ?
नगरपालिका र वडा कार्यालयको सक्रियतामा राखिएका गमला र फूलको स्याहार, संरक्षण तथा हेरचाह भने स्थानीयले गर्ने उहाँले बताउनुभयो । बिरुवा रोप्ने काम नगरपालिका वा वडाको तर त्यसलाई स्याहार्ने काम वडावासीहरूले आफैँ गर्ने उहाँले सुनाउनुभयो ।

“नगरवासी आफैँले आफ्नो घरअगाडिको रुखबिरुवा हुर्काउने, बिरुवाको हेरविचार गर्ने, पानी दिनेलगायतका काम स्थानीयस्तरमा घर नजिक भएका स्थानीयबाट नै हुँदै आएको छ”, अध्यक्ष उकेश कवां भन्नुहुन्छ, “यसले अपनत्व पनि बढ्छ र बोटबिरुवा पनि बाँच्छ ।”

नगरपालिकाले नगरलाई हरित, स्वच्छ र सुन्दर बनाउने अभियानअन्तर्गत यो कार्य भइरहेको उहाँले बताउनुभयो । नगरपालिकाले वडा नं १ देखि १० सम्ममै यो अभियान सुरु गरेको भन्दै यही काम आफ्नो वडामा पनि सम्पन्न भइसकेको जानकारी उहाँले गराउनुभयो ।

फूल रोपेका गमला माटोको नभई सिमेन्टका तयार पारिएका छन् । चोरी हुने सम्भावना भएकाले सार्वजनिक स्थलमा सिमेन्टका चारपाटे आकारका गमला राखेको वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले बताउनुभयो ।

हामी स्याहार्छौँ हाम्रो बोटबिरुवा
भक्तपुर नगरपालिका–७ का स्थानीय सुलोचना किसीले भक्तपुरलाई हरियाली तथा वातावरण संरक्षण प्रवद्र्धनका लागि भक्तपुरको यो कदम उदाहरणीय रहेको बताउनुहुन्छ । यही कारण आफ्नो वडामा भएको यो कार्यक्रममा आफूले पनि भाग लिएको उहाँले सम्झनुभयो ।

वडामा याताटोलदेखि गोल्मढीको गणेश मन्दिरसम्म गमलामा बिरुवा रोप्ने कार्य भएको उहाँले बताउनुभयो । अर्की नगरवासी मोहनकेशरी ग्वाछाले आफ्नो घरको पेटीमा आफैँले फूल रोप्नुपर्ने ठाउँमा वडा र नगरपालिकाले राखिदिएकोमा खुसी व्यक्त गर्नुभयो ।

हरेक घरको पेटीमा फूल रोपेको देख्दा एकदम खुसी भएको उहाँले बताउनुभयो । अब यी फूलहरू फुल्ने बेला टोल बगैँचाजस्तै हुने भयो, उहाँले भन्नुभयो । अर्का स्थानीय युवा प्रकाश मल्लले पाइलैपिच्छे सार्वजनिक स्थलमा गमलाहरू लाइनै रहेकाले एक दिन भक्तपुरलाई गमलै गमलाको सहर भनेर चिन्ने भन्दै खुसी व्यक्त गर्नुभयो ।

फेरिएला भक्तपुरको परिचय ?
भक्तपुरको हरेक चोक र गल्ली कलाका उत्कृष्ट नमुना हुन् । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार क्षेत्रमा रहेका प्रसिद्ध ५५ झ्याले दरबार, कलात्मक सुनौलो ढोका (लुँधोखा) र नेपालकै सबैभन्दा अग्लो न्यातपोल (ङातापोलो) देवल यहाँको इन्जिनियरिङ र काष्ठकलाका जिउँदा इतिहास हुन् । ढुङ्गा र काठका प्रत्येक टुक्रामा कुँदिएका देवीदेवताका मूर्तिहरूले मल्लकालीन भव्यताको कथा भनिरहेका लाग्छन् ।

भक्तपुर केवल पुराना भवनहरूको सहर होइन, यो एउटा ‘जीवित सम्पदा’ हो । यहाँ वर्षैभरि विभिन्न जात्रा र चाडपर्व मनाइन्छन् । नयाँ वर्षको आगमनसँगै सुरु हुने भव्य बिस्का जात्रा, सापारु (गाईजात्रा) र गल्ली–गल्लीमा गुञ्जने परम्परागत दाफा भजन तथा नवदुर्गा नाचले यो सहरलाई सधैँ उत्सवमय बनाइराख्छन् ।

स्थानीय निर्वाचनपछि २०७४–७९ सालसम्म पाँचतले मन्दिर, भैरवनाथ मन्दिरजस्ता महत्वपूर्ण सम्पदाको जीर्णोद्धारका साथै पाटी, ढुङ्गेधारा, सत्तल, इनार, पोखरी गरी १२४ वटाभन्दा बढी सम्पदाको पुनर्निर्माण तथा जीर्णोद्धार सम्पन्न भए ।

२०७९ सालमा दोस्रो पटकको स्थानीय निर्वाचनपछि पनि जनप्रतिनिधिहरूले उक्त कार्यलाई निरन्तरता दिइरहे । भाज्या पोखरी, रानी पोखरी, लक्ष्मीनरसिंह मन्दिरजस्ता महत्वपूर्ण सम्पदाको काम पछिल्लो कार्यकालमा सम्पन्न भएका हुन् ।

दुई कार्यकालमा गरी अहिलेसम्म मूर्त सम्पदाअन्तर्गत मठ, मन्दिर, ढुङ्गेधारा, पोखरी, सत्तल, पाटीलगायत १८५ वटा सम्पदाको पुनर्निर्माण तथा जीर्णोद्धार सम्पन्न भइसकेका छन् भने डेढ दर्जनजति सम्पदाको पुनर्निर्माण तथा जीर्णोद्धार भइरहेको छ ।

छिट्टै नै ती पनि सम्पन्न हुने क्रममा छन् । भक्तपुरको परिचय अहिलेसम्म कला र संस्कृतिको जीवन्त नगर हो । जुजु धौ (दही), भादगाउँले टोपी यहाँको चिनारी हो । यी र यस्तै चिनारीमा अर्को थप चिनारी थप्ने पछिल्लो प्रयास हो ‘हरियो नगर’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan