तिहारअघि ६७ करोड ५० लाखको धान खरिद गर्दै सरकार
काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा आगामी तिहारअघि ६७ करोड ५० लाख रुपैयाँ बराबरको धान खरिद गर्ने भएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच भएको समन्वयपछि सरकारले १५ हजार मेट्रिक टन धान खरिद गर्ने तयारी गरेको हो।
सरकारले कृषि मन्त्रालयले वैज्ञानिक ढंगले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यका आधारमा किसानबाट धान खरिद गर्ने योजना बनाएको छ। यसबाट किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने र बजारमा धानको मूल्य स्थिर राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य मोटा धानको प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ८६० रुपैयाँ तोकिएको छ।
न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले सम्बन्धित निकायसँग समन्वय गरिरहनुभएको छ।
सरकारले समयमै धान खरिद प्रक्रिया अघि बढाएर किसानलाई उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने तथा बजारमा मूल्य स्थिरता कायम गर्ने लक्ष्य लिएको छ।
