विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह
पाकिस्तानी राष्ट्रपति आसिफ अली जर्दारीले प्राकृतिक विपद्बाट हुने क्षति न्यूनीकरण गर्न पूर्वतयारी सुदृढ गर्न र अन्तरराष्ट्रिय सहकार्य विस्तार गर्न आह्वान गर्नुभएको छ । उहाँले विपद् आएपछि त्यसको प्रभाव व्यवस्थापन गर्नुका साथै जोखिम पहिचान गरी सम्भावित क्षति रोक्न विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ ।
अन्तरराष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसका अवसरमा मङ्गलबार सन्देश जारी गर्दै राष्ट्रपति जर्दारीले पाकिस्तानले बाढी, भूकम्प, तातो हावाको लहर र खडेरीलगायतका प्राकृतिक विपद्को सामना गर्दै आएको बताउनुभयो । यस्ता विपद्ले जनधन, आवास तथा जीविकोपार्जनमा ठूलो क्षति पु¥याएको उहाँको भनाइ थियो ।
उहाँले कृत्रिम बुद्धिमत्ता (एआई), भूउपग्रह प्रविधि र वास्तविक समयको तथ्याङ्क प्रयोग गरेर पाकिस्तानले राष्ट्रिय विपद् व्यवस्थापन प्रणालीलाई आधुनिक बनाउँदै लगेको जानकारी दिनुभयो । यी प्रविधिको प्रयोगबाट जोखिमको पहिचान, पूर्वसूचना जारी र विपद् आउनुअघि नै समुदायलाई सुरक्षित स्थानमा सार्न सहयोग पुगिरहेको उहाँले बताउनुभयो ।
राष्ट्रपति जर्दारीले विपद् व्यवस्थापनमा स्थानीय सरकार र समुदायको भूमिकालाई पनि महत्वपूर्ण बताउनुभयो । स्थानीय अवस्था र आवश्यकताबारे प्रत्यक्ष जानकारी हुने भएकाले विपद्का बेला उनीहरू नै प्रायःउद्धार तथा प्रतिकार्यको अग्रपङ्क्तिमा रहने उहाँको भनाइ थियो ।
उहाँले राष्ट्रिय तथा अन्तरराष्ट्रिय संस्थालाई विपद् पूर्वतयारीलाई प्रमुख प्राथमिकतामा राख्न आग्रह गर्नुभयो । साथै, साझा जोखिमको सामना गर्न क्षेत्रीय सहकार्य सुदृढ गर्न र देशबीच समन्वय बढाउनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रपतिले जलस्रोतको दिगो व्यवस्थापन, हिममण्डलको संरक्षण, खाद्य सुरक्षा, जलवायु अनुकूलन र वातावरण संरक्षणका क्षेत्रमा पनि अन्तरराष्ट्रिय सहकार्य विस्तार गर्न प्रस्ताव गर्नुभएको छ । साझा नदीको व्यवस्थापनमा देशबीच व्यापक सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो ।

